गाउँले मिडिया सम्वाददाता
लेखनाथ, २८ असार ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनासताल क्षेत्रलाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पोखरा महानगरपालिका–३१ को आयोजनामा शनिबार पोखरा ३१ कंडेल टुँडा परिसरमा लक्ष्मी नारायण मन्दिर तथा पञ्चायन मन्दिरको प्राण प्रतिष्ठान तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तालको सौन्दर्यतालार्य नविगार्ने गरी ताल क्षेत्रको धार्मिक र पर्यटकीय महत्वको उपयोग गर्दै स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउने गरी गुरुयोजनाअनुसार विकास गरिने स्पष्ट पार्नु भयो ।

उनले भने, “स्थानीय जनचाहना अनुसार तालको धार्मिक र पर्यटकीय महत्वलाई केन्द्रमा राखी विकास गर्न सकिन्छ, जसले आर्थिक गतिविधि बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अवसर सिर्जना गर्छ।” साथै, उहाँले ताल क्षेत्रको संरक्षण, अतिक्रमण रोकथाम तथा योजना अनुसारको विकासमा स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटकीय हव बनाउने लक्ष्यमा बेगनासतालको विशेष भूमिका रहेको औंल्याउँदै, क्षेत्रका पर्यटन व्यवसायलाई आधुनिकीकरण र गुणस्तर सुधारतर्फ लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा । इन्द्रप्रसाद तिवारीले बेगनासताल क्षेत्रलाई “ज्ञान र साधनाको भूमि”का रूपमा विकास गर्न सकिने धारणा राख्दै उहाँले धार्मिक ग्रन्थ अनुसार ऋषि च्यवनले यहीँ साधना गरेको स्मरण गर्दै क्षेत्रको धार्मिक महत्त्वको चर्चा गर्नु भएको थियो ।

यसै गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वराह क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विशेषता उल्लेख गर्दै यस क्षेत्रको समग्र विकासले गण्डकी प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने व्यक्त गर्दै आगामी दिनमा यस क्षेत्रको बिकासमा आफ्नो तर्फबाट सक्दो सयहोग गर्ने बताउनु भयो ।

कार्यक्रमका सभापति तथा वडा नं ३१ का अध्यक्ष ढकनाथ कँडेलले वराह क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिँदै, संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर यसलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो ।

उनले तत्कालीन लेखनाथ नगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार नै विकास कार्य अघि बढाइएको जानकारी पनि गराउनु भयो ।

कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले लेखनाथका तालहरुको संरक्षण गर्नु पर्ने बताउँदै यस क्षेत्रका तालहरुको संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकारको ध्यानकर्षण गराउनु भयो । वडा अध्यक्ष थापाले यस क्षेत्रको विकासका लागि सकारात्मक सोचका साथ सबै एज जुट हुनुपर्नेमा जोड दिंदै आगामी दिनमा बेगनासतालको संरक्षण र सम्बद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल सरकारका उपसचिव बसन्तराज तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, बेगनासताल धामिर्क तथा पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी, मन्दिर निर्माण समितिका निवर्तमान अध्यक्ष सुरेन्द्र सापकोटा भाट लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो भने वडा नं.३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । मन्दिर निर्माण समितिका सचिव श्रीराम कंडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।