गाउँले मिडिया सम्वाददाता
लेखनाथ, ९ साउन। पोखरा महानगरपालिका वडा नं। २८, माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चयन भएका छन्।

पोखरा महानगरपालिकाको स्थानीय शिक्षा नियमावली, परिच्छेद ५, नियम २९ अनुसार अभिभावक भेलाबाट तीन जना सदस्य सर्वसम्मत रूपमा चयन भएका हुन्। ती सदस्यहरूमा मुना लामिछाने, अनिता बजगाई भुर्तेल र महेश्वर अधिकारी रहनुभएको छ।

त्यस्तै, शिक्षक अभिभावक संघतर्फ हरिमाया गुरुङ, बिरेन्द्र लामिछाने, निर्मला तिवारी, निर्मला परियार, मंगलबहादुर नेपाली, गोविन्द प्रसाद लामिछाने र नवराज तिवारी पनि सर्वसम्मत रूपमा चयन हुनुभएको जानकारी वडा सदस्य एवं छनोट समितिका सदस्य कमल बहादुर थापाले दिनुभयो।

कार्यक्रममा अभिभावक, राजनीतिक दलका प्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक, र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक श्रीकृष्ण लामिछानेले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिँदै विद्यालयको समग्र विकासका लागि सबै पक्षको चासो र सहयोग जरुरी रहेको बताउनुभयो। शिक्षामा वडाबाट बजेट अभाव नरहेको उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयलाई स्थानीय विद्यार्थीका लागि आकर्षक बनाउन योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत एवं छनोट समिति संयोजक बद्रिनाथ सुवेदीले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाबारे स्पष्ट पार्दै, शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वयबाट मात्र विद्यालय सहज ढंगले सञ्चालन हुने बताउनुभयो। सामुदायिक विद्यालयमा राजनीतिक दलहरूको पनि सकारात्मक भूमिका हुनुपर्ने उहाँको धारणा थियो।

यसैक्रममा नेपाली कांग्रेस वडा इकाई सभापति विश्वरमण अधिकारी, नेकपा एमालेका बिरेन्द्र भण्ढारी, नेकपा माओवादी केन्द्रका दुधराज तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम तिवारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहन गुरुङ, पूर्व प्रधानाध्यापक भोजबहादुर अधिकारी, पूर्व शिक्षक श्यामबहादुर केसी, पूर्व शिक्षक एवम् भूर्नेल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोला लगायतले विद्यालय सञ्चालनमा साझा योजना र सबैको अपनत्व आवश्यक रहेको सुझाव दिनुभयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै सबैलाई धन्यवाद दिनुभयो। निवर्तमान सदस्य हिमलाल आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

छनोट समितिमा संयोजकका रूपमा वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदी, सदस्यका रूपमा वडा सदस्य कमल बहादुर थापा तथा सचिवका रूपमा प्रधानाध्यापक किरणबाबु न्यौपाने रहनुभएको थियो।