काठमाडाैं। नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ। देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ।
आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ। सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज लागू भएको निषेधाज्ञा भोलि (भदौ २६) बिहान ६ बजेसम्म निरन्तर रहनेछ। त्यसपछि पनि अवस्थाको समीक्षाअनुसार थप निर्णय हुने बताइएको छ।
आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कर्फ्यु जारी गरिएको सेनाको भनाइ छ ।
कर्फ्यु तथा निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले जनाएको छ ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो ।
सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ ।
गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।









