पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९ भण्डारढिकको २२ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट विजयराज भण्डारी अध्यक्ष मा निर्वाचित हुनु भएको छ । यसै गरी सदस्यहरूमा विश्वराज लामिछाने, राजेन्द्रप्रसाद पौडेल, प्रेमबहादुर थापा, श्रीधर आचार्य, हुमनाथ पौडेल र महिला सदस्यमा प्रेमकला आचार्य सर्वसम्मत निर्वाचित भए ।
यस अघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले सामुदायिक क्याम्पसहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै जनप्रकाश गण्डकी प्रदेशकै उत्कृष्ट सामुदायिक संस्थामध्ये एक भएको बतानु भयो । गुणस्तरीय शिक्षा, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा केन्द्रित भएर क्याम्पसले स्थानीयस्तरमा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको उहाँले बताउनु भयो।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षका शैक्षिक, आर्थिक र भौतिक उपलब्धिबारे जानकारी गराउनु भएको थियो । उहाँका अनुसार, विद्यार्थीको संख्यात्मक वृद्धि, पुस्तकालय तथा प्रयोगशाला बिस्तार, सूचना प्रविधि–मैत्री कक्षा सञ्चालन र शिक्षक तालिममार्फत गुणस्तर अभिवृद्धिमा ध्यान दिइएको छ । साथै आगामी वर्षमा क्याम्पसले स्नातकोत्तर तहका नयाँ कार्यक्रम सञ्चालन र अनुसन्धान संस्कृतिलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो ।
प्राध्यापक संघका अध्यक्ष युवराज लामिछानेले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले नै क्याम्पसको सफलता सम्भव भएको बताउनु भयो । उहाँले यो एकताबद्ध भावना अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने कुरामा जोड दिनु भयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, वडा २९ का वडा सदस्य कालिदास पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका पराजुली, पूर्वअध्यक्षहरू केसप्रसाद निर्दोषी र माधव पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य प्रेमकला आचार्य, विद्यार्थी कल्याणकारी क्लब उपाध्यक्ष अर्चना गुरुङ लगायतले क्याम्पसको निरन्तर प्रगति, पारदर्शिता र सामुदायिक सेवामा समर्पणप्रति प्रशंसा गर्दै आगामी दिनमा थप उपलब्धि हासिल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गर्नु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य हुमनाथ पौडेलस्वागत मन्तव्य एवम् कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।









