पोखरा / मंसिर ८ ।
पोखरा माहानगरपालिका वडा नंं ४ मा रहेको नवीन माविमा खोज , उद्धार तथा आपतकालिन प्रोटोकल तथा आधारभूत स्काउटीङ तालिम सम्पन्न भएको छ ।
नवीन स्काउटले आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोेखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले विद्यार्थी जीवनमा स्काउट र स्काउटिङ गतिविधिले विद्यार्थीको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
वडा नं. ४ को एकमात्र सामुदायिक विद्यालय नवीन मा.वि.लाई यस प्रकारको महत्वपूर्ण कार्यक्रममा विदेशी तथा स्वदेशी सम्पूर्ण स्काउट तथा विभिन्न संघ–संस्थामा आवद्ध विशिष्ट अतिथी तथा अतिथीहरुलाई सुन्दर नगरी पोखरामा हार्दिक स्वागत गर्दै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
यसै गरी कार्यक्रममा इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, वल्र्ड काउन्सिल यू.के.का जनरल कमिसनर डा. मुगे सि कोक्स, इन्टरनेशनल स्काउट ग्रुप, डिसाबिलिटी एण्ड स्पेशल निड, यू.के.का जनरल कमिसनर मेलिसा कोक्स, हाइसन कल्चर मिडिया, चीनका प्रतिनिधी खुदे मो र टर्कीका गोरखानले स्काउटिङको महत्वबारेमा चर्चा गर्नु भएको थियो ।
स्काउटका पिता बेडेन पावलको तस्वीरमा अबिर तथा पुष्पगुच्छा अर्पण गरी सुरु भएको कार्यक्रम मा नेपाल स्काउट, गण्डकी प्रदेशका कार्यकारी अधिकृत विजय पौडेलले स्वागत गर्नु भएको थियो भने इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, नेपालका अध्यक्ष अजित खड्काले कार्यक्रमको औचित्य तथा उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो ।


कार्यक्रममा स्काउटहरुलाई इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, वल्र्ड काउन्सिल यू.के.का जनरल कमिसनर डा. मुगे सि कोक्सले प्राथमिक उपचार र इन्द्राणी शर्माले योग तथा मेडिटेसन सम्वन्धि तालिम दिनुभएको थियो । १५ जना स्काउट केटा र ३५ जना स्कउट केटी गरी ५० जनाको सहभागीता रहेको उक्त तालिममा सहभागी स्काउटहरुलाई कार्यक्रमका प्रमूख अतिथी तथा विशिष्ट अतिथीहरुबाट सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका शिक्षक तथा नवीन स्काउट ट्रुपका स्काउट मास्टर रमेश परियारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गौरी देवी पौडेलले धन्यवादन सहित कार्यक्रम समापन गर्नु भएको विद्यालयका शिक्षक स्काउट मास्टर रमेश परियारले जनानकारी दिनु भयो ।