लेखनाथ, ११ मंसिर । पोखराको बेगनासताल लगायत वरपरको क्षेत्रलाई साहसिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन यहि मंसिर १३ गते शनिबार ‘एक्सटेरा नेपाल २०२५ हुने भएको छ ।

प्रिविङ्कल सर्भिस प्रालिको आयोजनामा हुने प्रतियोगिताको दोस्रो संस्करण  बेगनासताल किनारमा आयोजना हुने संस्थाका प्रवन्ध निर्देशक दिपेश घलेले जानकारी दिए । यो प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्सटेरा प्लानेट ब्रान्डको हिस्सा हो. जसले अफ रोड ट्रायथलन, ट्रेल रन लगायतका साहसिक खेलहरूको प्रवद्र्धन गर्दै आईरहेको छ ।

शनिबार हुने कार्यक्रमहरुमा ट्रायथलन खेल (स्विमिङ, साइक्लिङ र दौड)को संगम रहेको बताउँदै यस वर्ष स्वदेशी तथा विदेशी खेलाडीहरुको उत्साहजनक सहभागिता रहने पनि घलेले बताएका छन् । प्रतियोगिताको आयोजनाले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत सकरात्मक प्रभाव पार्ने उनले दावी गरेका छन ।

पोखराको पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा रहेको उल्लेख गर्दै घलेले भने–‘पोखराको लेखनाथ र बेगनासताललाई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनलाई अझ सशक्त बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरेका हौं’ उनले थपे, ‘यसलाई सफल बनाउन सबैको सहयोग र सहकार्यका लागि म अनुरोध गर्दछु ।’

१३ देशका १५० भन्दा बढी प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको प्रतियोगितामा स्थानिय ५० जना समेत सहभागी हुनेछन । स्प्रिन्ट ट्रायथलन अन्तर्गत ७५० मि.पौडी, १४ किमी माउण्टेन बाइक रेस, ६ किमी ट्रेल रनको पहिलो इभेन्ट रहनेछ भने फुल डिस्टेन्स ट्रायथलन अन्तर्गत १.५ किमि स्विमिङ, २८ किमि साइक्लिङ र १२ किमि ट्रेल रन हुनेछ । पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा पुरस्कारको व्यवस्था गरिएको छ । दुवै विधाका महिला तथा पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितालाई थप रोचक बनाउन दुआथलन, ट्रेल रन र २ किमि किड्स रन समेत समावेश गरिएको आयोजकले जनाएको छ । पहिलो संस्करणमा सहभागिता जनाएका विदेशी खेलाडीहरूले समेत पोखरालाई विश्वकै उत्कृष्ट मध्ये एक भएको उल्लेख गरेको स्मरण गर्दै घलेले प्रतियोगितालाई पोखरा महानगरपालिकासहित, वडा नं २७, २८, ३० र ३१ को समेत सहयोग रहेको र स्थानिय बेगनास युवा क्लब, लेखनाथ होटल एसोसिएसन, स्थानिय तमु समाज, स्थानिय आमा समूह, बेगनासताद डुंगा व्यवसायी समिति लगायतले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नेछन् ।

पोखराको फेवातालमा वाटर स्पोर्टसका गतिविधि हुदै आए पनि पोखराकै अर्को महत्वपूर्ण बेगनास भने वाटर तथा एडभेन्चर स्पोर्टसको गतिविधि शुन्य प्रायः रहेको छ । प्रतियोगिताले यस क्षेत्रमा समेत खेल गतिविधि बढ्ने अपेक्षा आयोजकले गरेको छ ।