लेखनाथ / मंसिर ११ ।
पोखरा महानगरपालिका वडा नंं२८ मा मा.वि.तह (कक्षा ९ र १० ) को वडा स्तरीय चित्रकला प्रतियोगिता विहिवार सम्पन्न भएको छ ।
शान्तिका लागि साझा अभियान ( कोक्याप) को आयोजना र रत्नशोभा मा.वि.पोखरा २८ को व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा जनज्योति मा.वि., कालिका ईङ्गलिस बोडिङ स्कुल र रत्नशोभा माविका प्रत्येक विद्यालयबाट ५ जना गरी जम्मा १५ जना विद्यार्थीहरुको चित्रकला प्रतियोगितामा सहभागिता रहेको थियो । सामाजिक सुरक्षा र मानव अधिकार विषयक चित्रकला प्रतियोगितामा कालिका इङ्गलिस बोडिङ स्कुलका रितेश भण्डारी प्रथम , जनज्योति माविका रिदम गुरुङ द्धितिय , जनज्योति माविकै सृष्टि बजगाई तृतीय र रत्नशोभा माविका स्मृति बुढाथोकी सान्त्वना भएका थिए । प्रतियोगिताको निर्णायकमा गैह्र सरकारी संस्था महासंघ कास्की शाखाका सचिव केशु भुजले र कलाकार रिक गुरुङ रहनु भएको थियो ।
प्रथम , द्धितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पोखरा २८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक श्रीकृष्ण लामिछानेले विद्यर्थीहरुले कक्षाकोठाको कितावी ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान पनि सिक्न जरुरी रहेको बताउनु भयो । विद्यालयबाट विद्यार्थीहरुको रुचीअनुसार व्यवहारिक एवम् जीवनोपयोगी सीपसँग सम्बन्धि योजना बनाएर वडा कार्यालयमा पेश गर्न आग्रह गर्दै यसका लागि वडबाट सक्दो सहयोग गर्ने बताउनु भयो । विद्यार्थीको सफलता नै हामी सबैको सफलता हो भन्दै वडा अध्यक्ष लामिछानेले वडामा शैक्षिक स्तर बृद्धि गर्न वडा कार्यालय सदैन सकारात्मक रहेको जानकारी दिनु भयो ।
यसै गरी रत्नशोभा माविका प्रधानाध्यापक किरणबाबु न्यौपानेले भाषाको प्रयोग नगरी सांकेतिक रुपमा चित्रबाट पनि धेरै कुराको ज्ञान प्राप्त गर्न सकिने बताउँदै कार्यक्रमको व्यवस्थापन गर्न अवसर प्रदान गर्ने अयोजक संस्थालाई धन्यवाद दिनु भयो । प्रतियोगितामा सहभागीता नै सबैभन्दा ठूलो सफलता हो भन्दै यस्ता प्रतियोगितामा गरिएको सहभागिताले उज्ज्वल भविष्य निर्माण गर्न टेवा पुग्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलाकार एवम् निर्णायक रिक गुरुङले विद्यार्थीहरुले आफ्नो लक्ष्यमा पुग्न अध्ययन कार्यमा लगनशिलताका साथै कलाकारितालाई पनि निरन्तरता दिन जोड दिनु भयो । धैर्यताबाट मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै गुरुङले कलाकारिताबाट जिवन्त झल्कने र यसका लागि समर्पित हुनुपर्ने बताउनु भयो । आफू पढेको विद्यालयमा आफूले निकट भविष्यमा यस्तै किसिमको चित्रकला प्रतियोगिताको आयोजना गर्ने बताउनु भयो ।
सहभागी विद्यार्थीको तर्फबाट रत्नशोभा माविका छात्रा स्मृति बुढाथोकीले चित्रकला प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीको व्यक्तित्व विकास हुने बताएकी थिइन भने कोक्यापका कार्यक्रम अधिकृत सुसिला नेपालीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।














