पोखरा ।
१४ औं पोखरा महोत्सव आगामी पुस २९ देखि माघको ११ गतेसम्म हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह खेल मैदानमा हुने महोत्सवको तयारी तीव्र पारिएको छ ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तिब्रता दिइएको हो । यसै गरी उपसमिति र सल्लाहकारहरूको संयुक्त बैठकमा सल्लाहकार डा कृष्ण केसीले समय, परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने सुझाव दिनु भयो । क्लबले गरेका सामाजिक कामको उपलब्धिलाई चित्रण हुने गरी महोत्सवमा देखाउन आवश्यक रहेको बताउँदै केसीले विभिन्न सरकारी नियकासँग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिनु भयो ।
अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक सुदीप आचार्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव दिनु भयो ।
सल्लाहकार टीकाबहादुर कार्कीले महोत्सव स्थल सधैं रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने औंल्याए । शंकरनाथ पौडेलले लेखनाथभन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताउँदै पौडेलले महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रमसँगै क्लबले अहिलेसम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताउनु भयो ।
रामबहादुर पौडेलले वातावरण मैत्री ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको सुझाव राख्नु भयो । माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेश गर्न सके पोखरा महोत्सवको अपनत्व बढ्ने बताउनु भयो । बलराम ढुंगानाले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएको स्पष्ट पार्नु भयो ।
इन्दिरा पन्तले पोखरा पर्यटकीय राजधनीसँगै साहित्यको राजधानी भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने विचार व्यक्त गर्नु भयो। राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिनु भयो।
सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताउनु भयो । लीलाधर अधिकारीले पार्किङको समस्या समाधान गर्न आवश्यक रहेको सुझाव राख्नु भयो ।
बैठकमा सुवेदार जसबहादुर गुरुङ, राजेन्द्रबहादुर कार्की, गोविन्द घिमिरे, पवित्रादेवी गुरुङ, क्लबका महासचिव दिनेश सुनार, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सल्लाहकारहरु रामजीप्रसाद बास्तोला, गुप्तबहादुर कार्की लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
महोत्सवका मुल समारोह संयोजक लोकबहादुर थापाले महोत्सवलाई भव्य बनाउन सबैको सहयोग रहने अपेक्षा व्यक्त गर्नु भयो । संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवकै कारण पोखरा खुला चिडियाखाना बनेको जनाउँदै अब आवासीय छात्राबास बनाउनुपर्नेमा जोड दिनु भयो ।









