पोखरा, फागुन ७ ।
कास्कीको रुपा गाउँपालिका वडा नं. ४, माउडाँडास्थित कल्प आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा ट्रयाकसुट वितरण गरिएको छ।
जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ का सञ्चालक समिति अध्यक्ष तथा शिक्षाप्रेमी विजयराज भण्डारीले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीहरूलाई प्रजातन्त्र दिवसका अवसरमा सो सहयोग उपलब्ध गराउनुभएको हो।
साना बाबुनानीहरूलाई जाडोको समयमा राहत मिलोस् भन्ने उद्देश्यले आफूले यो सानो सहयोग गरेको उहाँले बताउनुभयो।
नेपाल शिक्षक संघ, कास्कीका पूर्व अध्यक्ष समेत रहनुभएका भण्डारीले कार्यक्रममा बोल्दै भन्नुभयो, “मैले लामो समय सामुदायिक विद्यालयमा अध्यापन गरेँ। यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप हौसला मिल्ने र विद्यालयको प्रगतिमा सहयोग पुग्ने विश्वास लिएको छु।“
नेपाल ट्रेड युनियन कांग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहनुभएका भण्डारी सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँले गत वर्ष मात्र पोखरा–२८, माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको पुस्तकालय विकासका लागि १ लाख ५० हजार रूपैयाँको ‘विजयराज–सीता अक्षयकोष’ स्थापना गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर शाही, शिक्षक अभिभावक संघका अध्यक्ष राजवीर सिंह र पोशाक वितरणका संयोजक चन्द्रमणि पौडेल लगायतले बोल्नुभएको थियो। उहाँहरूले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च हुने र शैक्षिक क्रियाकलाप सञ्चालनमा सहज हुने बताउँदै सहयोगीदाता भण्डारीप्रति आभार व्यक्त गर्नुभयो।