फाल्गुण ९,पोखरा । पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको दीक्षान्त समारोह–२०८२ शनिबार पोखरामा सम्पन्न भएको छ । बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना गरी कुल ६५ दीक्षित विद्यार्थीहरूलाई उक्त समारोहमा प्रमाणपत्र वितरण गरियो । दीक्षित विद्यार्थीमध्ये ९ जना उत्कृष्ट अंक प्राप्त गर्दै डिन्स लिस्टमा पर्न सफल भएका थिए ।

विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक डा. ज्ञानेश्वर शर्मा, कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष प्रोफेसर डा. टंकनाथ शर्मा, कलेज सञ्चालकहरू सुरेश प्रकाश चटौत, समिर शर्मा लगायतले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि ज्ञानेश्वर शर्माले दीक्षित विद्यार्थीहरूले कलेजबाट उत्कृष्ट ज्ञान तथा दक्षता हासिल गरेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा लगाउन आग्रह गर्नुभयो । ‘कलेजले उत्कृष्ट पाठ्य सामग्री तयार पारी विद्यार्थीहरूलाई दक्ष बनाएको छ, अब यसलाई जीवनमा लगाउने क्षण आएको छ, तपाईँहरूको उज्ज्वल भविष्यको कामना गर्दछु’– उहाँले भन्नुभयो ।

दीक्षित विद्यार्थीको तर्फबाट बोल्दै विद्यार्थी अन्जली पौडेलले अब आफूहरूको असली जीवन यात्राको सुरु भएको बताउँदै आगामी यात्राको चुनौती सामना गर्न सक्षम बनाइदिएकोमा कलेज परिवार, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । समारोहमा कलेज सञ्चालक समितिका सदस्य समिर शर्मा, फ्याकल्टीका तर्फबाट शशिधर बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कलेजका अध्यक्ष विनोद कायस्थले कलेजले स्थापना कालदेखिनै व्यवहारिक र गुणस्तरिय शिक्षा, नैतीक मुल्य र नेतृत्व विकासलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । योग्य, अनुभवि र समर्पित प्राध्यापक कलेजको मुख्य आधारस्तम्भ भएको उहाँले उल्लेख गर्नुभयो ।

कलेज प्राचार्य लिना नेगी श्रेष्ठले पोखरामा आफ्नों विशेष पहिचान बनाउन सफल पिसिएम कलेजबाट आजसम्म बिबिए कार्यक्रमबाट २० ब्याच तथा बिसिएसबाट ४ ब्याच आफ्नों अध्यायन पुरा गरिसकेको जानकारी दिनुभयो । कलेजबाट पास आउट भएर गएका विद्यार्थीहरु समाजका विभिन्न प्रतिष्ठित स्थानहरुमा स्थापित भइसकेको उहाँको भनाई थियो ।

बिसिएस आइटी कार्यक्रम संयोजक ई. हरिप्रसाद बरालद्वारा विद्यार्थीहरुलाई आफ्नों शिक्षा प्राप्त गर्नका लागि महत्वपूर्ण भूमिंका निर्वाह गर्नुहुने अभिभावक, शिक्षकहरु तथा कलेज सञ्चालकहरुलाई पुष्पवृष्टी सहित कृतज्ञता गराउनुभयो । कलेज शिक्षक दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।