पोखरा, १७ चैत । पोखरा महानगरपालिका–२८, माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको शैक्षिक एवम् भौतिक सुधारका लागि भूतपूर्व विद्यार्थीहरू संगठित हुन थालेका छन्। यसै सिलसिलामा ‘रत्नशोभा माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी एसोसिएसन’को प्रथम साधारण सभा तथा अधिवेशन आगामी चैत २८ गते शनिबार विद्यालय परिसरमा हुने भएको छ।
वि.सं.२०१६ सालमा स्थापना भएको यस विद्यालयका पूर्व विद्यार्थीहरूलाई एउटै थलोमा ल्याई विद्यालयको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ एसोसिएसन गठन गरिएको तदर्थ समितिका अध्यक्ष शुक्रराज शर्माले जानकारी दिनुभयो। “हामीले विद्यालयको सर्वाङ्गीण हितका लागि यो अभियान सुरु गरेका हौँ, यसलाई संस्थागत गर्न अधिवेशन गर्न लागिएको हो,”  शर्माले भन्नुभयो।
एसोसिएसनका सचिव कालिप्रसाद भुर्तेलले स्थापनाकालदेखि २०८२ सालसम्मका सबै पूर्व विद्यार्थी र शुभचिन्तकलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको बताउनुभयो। विद्यालयको समग्र विकासको लागि पूर्व विद्यार्थीहरु र शुभचिन्तक, बुद्धीजिवीहरुको एउटै साझा धारणा हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थितका लागि सचिव भूर्तेलले आग्रह गर्नु भयो ।
संस्था विधिवत दर्ता भइसकेको र अबको नेतृत्वले पूर्व विद्यार्थीहरूको सञ्जाललाई अझ बलियो बनाउने विश्वास कोषाध्यक्ष हरि लामिछानेले व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न प्रचार–प्रसारलाई तीव्रता दिइएको संयोजक रामचन्द्र तिवारीले बताउनुभयो। उहाँले कार्यरत शिक्षक, कर्मचारी र स्थानीय शुभचिन्तकहरूलाई समेत सहयोगका लागि आग्रह गर्नुभएको छ।