काठमाडौँ, चैत २२ गते । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।

आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

बैठकमा रास्वपाका सभापति रबि लाछिानेले डोल प्रसाद आर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा प्रस्तावको पक्षमा समर्थन गर्दै आआफ्नो धारणा राख्नुभएको छ ।

उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको बैठक समक्ष घोषणा गर्नुभयो ।

सभामुख अर्यालद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिनु भएको हो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिँदै उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीगण, भूपू प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ सरकारी अधिकारी र लब्धप्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।