माझठाना, ३ जेठ । पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित साविक माझठाना तथा कालिका क्षेत्रका ३५ वर्ष उमेर समूहभन्दा माथिका पुरुषहरूको वडास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि साविक माझठाना वडा नं. ९ ले जितेको छ।
रत्नशोभा भूतपूर्व विद्यार्थी एसोसियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा साविक वडा नं. ९ ले साविक वडा नं. ५ ज्यामिरेलाई सोझो दुई सेटमा २५–१३ र २५–१३ को सहज जित निकाल्दै उपाधि हात पारेको हो। प्रतियोगितामा साविक माझठाना–५ ज्यामिरे उपविजेतामा सीमित रहँदा साविक माझठाना वडा नं. ६ ले तृतीय स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगिताका विजेता साविक वडा नं. ९ ले खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता साविक वडा नं. ५ ज्यामिरे र तृतीय स्थान हासिल गर्ने साविक वडा नं. ६ ले क्रमशः बोका पुरस्कार प्राप्त गरेका छन्।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने ले भूतपूर्व विद्यार्थी एसोसियसनले विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्व विद्यार्थीहरूलाई खेलकुदमार्फत पुनर्मिलन गराएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा एसोसियसनले सबै पूर्व विद्यार्थीलाई संस्थागत रूपमा आबद्ध गराई विद्यालय तथा क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै यस कार्यमा वडा कार्यालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, भूतपूर्व विद्यार्थी एसोसियसनका अध्यक्ष कालिप्रसाद भूर्तेल ले यस विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई संस्थागत रूपमा एकताबद्ध गर्दै क्षेत्रको चौतर्फी विकासमा सहकार्य गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो। युवा वर्गलाई खेलकुदमार्फत उत्साहित गर्दै विकास निर्माणका कार्यमा एकता कायम गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको अध्यक्ष भूर्तेलले स्पष्ट पार्नुभयो।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहन गुरुङ, कार्यक्रम संयोजक विष्णु बहादुर अधिकारी, खेलकुद संयोजक सन्तोष भुजेल लगायतले खेलकुदको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नु भएको थियो।
भूतपूर्व विद्यार्थी एसोसियसनका सदस्य समिर तिमिल्सेनाले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष कालिप्रसाद भूर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
एसोसियसनको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित विद्यार्थी पुनर्मिलन, ३५ वर्षमाथिका भेट्रान्स भलिबल प्रतियोगिता तथा एसईईमा ग्रेडेड भएका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम समेत भव्य, सभ्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने जेठ २ र ३ गते सञ्चालन भएको कार्यक्रममा कालिका र माझठाना क्षेत्रका खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।











