माझठाना, जेठ १० – पोखरा महानगरपालिका वडा नं. २८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको छ।

भूतपूर्व विद्यार्थी एसोसिएसन कार्यसमितिका सदस्य चित्र बहादुर नेपालीले आइतबार आयोजित एक कार्यक्रमबीच उक्त मेसिन विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल तथा पूर्व प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नुृ भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले वर्षायाममा विद्यालयको खेलमैदानमा अत्यधिक घाँस उम्रँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विभिन्न जीवजन्तुबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मेसिन उपलब्ध गराइएको जानकारी दिनु भयो । “विद्यालयको शैक्षिक वातावरण सुधारका लागि विभिन्न सरकारी निकायसँग समन्वय गरी मेसिन व्यवस्थापन गरिएको हो , नेपालीले भन्नु भयो , आगामी दिनमा पनि विद्यालयको समग्र विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले विद्यालयको खेलमैदानमा बढ्दै गएको घाँसका कारण शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्रभावित भइरहेको अवस्थामा घाँस काट्ने मेसिन उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले मेसिन उपलब्ध गराउन विभिन्न सरकारी निकायसँग समन्वय गर्ने पूर्व विद्यार्थी चित्र नेपाली लगायत सम्पूर्ण सहयोगी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
त्यसैगरी, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष नरबहादुर नेपालीले विद्यालयका लागि घाँस काट्ने मेसिन अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्नु भयो ।