काठमाडौँ, जेठ १५ गते । नेपालमा शुक्रबार गणतन्त्र दिवस मनाइँदै छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत राज्यका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास तथा विशेष कौशल प्रदर्शन गरिनेछ । साथै, विभिन्न निकाय तथा सांस्कृतिक समूहहरूले मुलुकको जातीय एवं सांस्कृतिक विविधता झल्कने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।









