पोखरा । पोखरा महानगरपालिका २७ स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित भएका छन् । संस्थाको छैटौं अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा उनले ४० मत प्राप्त गरे । शर्माका निकटतम प्रतिस्पर्धी पुष्पकमल ढुंगानाले ३८ मत ल्याएका छन् । अर्की प्रतिस्पर्धी नारायणी भट्टराई रक्षाले ३७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा जम्मा १२२ मत खसेको थियो । तीमध्ये ८ मत बदर भएको निर्वाचन समितिले बताएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि अन्तिम समयसम्म सहमतिको प्रयास गरिएको थियो । सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियाबाट अध्यक्ष छानिएको हो । निर्वाचित शर्मा संस्थाका बहालवाला अध्यक्ष हुन् । प्रतिस्पर्धामा उत्रिएका ढुंगाना उपाध्यक्ष र रक्षा सचिव हुन् ।

अध्यक्ष बाहेकका अन्य पदहरुमा भने कार्यसमिति सर्वसम्मत चयन भएको छ । खुला सदस्यहरुमा डम्मरबहादुर थापा, मेघराज भण्डारी र भरत न्यौपाने छानिएका छन् । त्यसैगरी मुकुन्द घिमिरे, सूर्यनाथ भण्डारी र टिकाराम भुर्तेल पनि सदस्यमा चयन भए । महिला सदस्यहरुमा विमला कुमारी थापा बस्नेत, पार्वती अधिकारी पौडेल र राधा सापकोटा निर्वाचित भएका छन् ।