लेखनाथ, २० असार । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उद्यमी व्यवसायीहरू केवल करदाता मात्र नभई राष्ट्र निर्माणको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउनु भयो ।
शनिबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औं स्थापना दिवस तथा २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गरेरै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मन्त्री रिमालले उद्योग, व्यापार र उद्यमशीलताविना कुनै पनि राष्ट्रको आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताउनु भयो । “उद्योग र व्यापारको विकासविना प्रदेशको विकासको परिकल्पना गर्न सकिँदैन,“ उहाँले भन्नु भयो ्, “त्यसकारण सरकार निजी क्षेत्रलाई जहिले पनि सम्मान गर्दै समस्या समाधानतर्फ उन्मुख रहन्छ।“
कार्यक्रममा मन्त्री रिमालले सरकारले निजी क्षेत्रका कुरा पर्याप्त रूपमा सुन्न नसकेको यथार्थ खुलेर स्वीकार गर्नु भयो । नीति निर्माणमा निजी क्षेत्रलाई चाहिने सहजता दिन नसकिएको, नवीकरण प्रक्रियामा समस्या रहेको र भर्खरै वातावरण शुल्कसम्बन्धी विषयमा पनि उद्यमी व्यवसायीको इच्छाविपरीत सरकारले निर्णय लिएको उहाँले स्वीकार गर्नु भयो । यद्यपि यस्ता विषयलाई निजी क्षेत्रसँग छलफल गरेरै र निजी क्षेत्रको चाहनाअनुसार अगाडि बढाइने प्रतिबद्धता जनाउनु भयो ।
लगानीको वातावरण तयार गर्ने दायित्व सरकारकै भएको उद्योगी व्यवसायीहरूको माग जायज रहेको बताउँदै मन्त्री रीमालले भन्नु भयो , “नीति निर्माण गर्दा उद्यमी व्यवसायी साथीहरूको हक र हितका निम्ति उहाँहरूको लगानी सुरक्षित हुने खालको नीति निर्माण गर्नुपर्छ।”

छिट्टै उद्योग वाणिज्य नीति तयार गरिने

गण्डकी प्रदेशले चाँडै आफ्नो उद्योग वाणिज्य नीति तयार गर्ने प्रक्रियामा रहेको र यसका लागि निजी क्षेत्रसँग बसेर छलफल गरिने मन्त्री रिमालले जानकारी दिनुभयो । कस्तो नीति निर्माण गर्दा उद्योग वाणिज्य संघ र निजी क्षेत्रलाई सहज हुन्छ भन्ने विषयमा छिट्टै भेला बोलाइने उहाँले बताउनु भयो ।
मन्त्रीले डिजिटल प्रविधि र ई–कमर्सलाई संस्थागत रूपमा प्रवद्र्धन गर्नुपर्ने, युवा तथा महिला उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन दिनुपर्ने, कृषि र पर्यटनबीच अन्तरसम्बन्ध स्थापित गरी स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा जोड दिनुपर्ने बताउनु भयो । साथै हरित उद्योग, वातावरणमैत्री उत्पादन र दिगो पर्यटन व्यवसायलाई प्राथमिकता दिनु आजको आवश्यकता भएको उहाँले औंल्याउनु भयो ।

पुँडिटार जग्गा विवाद भदौभित्रै टुंगिने

लामो समयदेखि विवादित पुडिटार तथा लोकाहा खोलाको जग्गा विवाद सम्बन्धमा मन्त्री रिमालले डिपिआर र ईआईए सम्पन्न भइसकेको र बाँकी वातावरणीय मूल्यांकन प्रक्रिया भदौ महिनाभित्रै सक्ने जानकारी दिनु भयो । “म जति बस्छु, मेरो कार्यकालभित्रै यो विषय टुंग्याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,“ उहाँले भन्नु भयो ।
पोखरा पर्यटनको हब भएकाले कृषिमा आधारित उद्योग सिर्जना गरी पर्यटन मार्फत विदेशी पर्यटक भित्राउन सकिने र प्रदेशको सीमित बजेट तथा अधिकारका बाबजुद प्रदेश सरकार यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता मन्त्रीले रिमालले व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले अहिलेको अवस्थामा बैंकहरूमा प्रशस्त तरलता भए पनि उद्योगी व्यवसायीले लगानीको सुरक्षा महसुस गर्न नसकेको गुनासो गर्नु भयो । लगानीको सुरक्षामा देखिएको खतराका कारण थुप्रै व्यवसायी आफ्नो पसल बन्द गरेर वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको अवस्था उहाँले औंल्याइन्।
“हाम्रो लगानीको सुरक्षाको खतरा भएका कारणले गर्दा भइरहेका व्यवसायीहरू आफ्नो सटर बन्द गरेर वैदेशिक रोजगारमा गएर आफ्ना जीवन गुजारा गर्न बाध्य परिस्थिति भएको छ,“उहाँले भन्नु भयो । भय रहित वातावरण भएमा मात्रै उद्योगी व्यवसायी फस्टाउन सक्ने उहाँको भनाई थियो ।
अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्र स्थापनाको माग एक दशक पुगिसक्दा पनि पूर्णता नपाएको विषयमा असन्तुष्टि व्यक्त गर्नु भयो । उद्योगमन्त्रीको पहलमा यो विषय टुंगोमा पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष पराजुलीले लेखनाथबासी र उद्योगी व्यवसायीहरूको यही चाहना रहेको बताउनु भयो ।
साथै उधारोमा फसेका सामान र चेक बाउन्समा परेका घटनाहरूको सत्यतथ्यमा आधारित छानबिन गरी दोषीलाई कारबाही र निर्दोषले न्याय पाउने वातावरण बनाइदिन उहाँले प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नु भयो ।
संघले विगतमा दुई दशकसम्म स्थानीय सरकार नहुँदा स्थानीय सरकारकै भूमिका निर्वाह गर्दै आएको वताउँदै अब स्थानीय सरकार रहेको अवस्थामा संघले आफ्ना गतिविधि उद्योगी व्यवसायीको हकहित संरक्षण र प्रवद्र्धनमा केन्द्रित गर्ने अध्यक्ष पराजुलीले जनाउनु भयो ।
संघले सीप तालिम, सेमिनार तथा गोष्ठीमार्फत बेरोजगार युवायुवतीलाई उद्यमशीलता र रोजगारीतर्फ प्रेरित गर्दै आएको उहाँले बताउनु भयो । “तपाईंहरूलाई के सीपको आवश्यकता छ, त्यो हामी आफ्नो हैसियतअनुसार उपलब्ध गराउँछौं , हाम्रो हैसियतभन्दा माथिको माग भए विभिन्न निकायसँग लबिङ गरेर पूरा गर्न तयार छौं,“ उहाँले भन्नु भयो ्, “तर इच्छाशक्ति भने तपाईंहरू आफैंले राख्नुपर्छ।“
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले संघीयताको मर्मअनुरूप सरकार र निजी क्षेत्रबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायीमैत्री नीति निर्माण, लगानी प्रवद्र्धन र प्रशासनिक सहजीकरणलाई अहिलेको प्रमुख आवश्यकताका रूपमा औंल्याउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले समयसँगै व्यवसाय सञ्चालनको शैलीमा पनि परिवर्तन आइरहेको बताउँदै नयाँ पुस्ताले प्रविधिमैत्री सोचका साथ उद्यमशीलतामा अघि बढ्नुपर्ने धारणा राख्नु भयो । लेखनाथ क्षेत्र शिक्षा, संस्कृति, पर्यटन र आर्थिक विकासका दृष्टिले उच्च सम्भावना बोकेको उल्लेख गर्दै उहाँले उपलब्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै व्यावसायिक उपयोगमा जोड दिनु भयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले संघले तीन दशकयता पु¥याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिने समस्या समाधानका लागि प्रशासन सधैं सकारात्मक रहने प्रतिबद्धता जनाउनु भयो । उपभोक्ता हित संरक्षण र व्यवसायमैत्री वातावरण निर्माणमा सबै पक्षको साझा प्रयास जरुरी रहेको उहाँको भनाइ थियो।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले ८० जना सदस्यबाट सुरु भएको संस्था हाल दुई हजारभन्दा बढी सदस्य संख्यामा पुगेको जानकारी दिनु भयो । लेखनाथ क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार र सामाजिक क्षेत्रमा संघको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँले कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, ताल संरक्षणमा सरकारी लगानी थप्न र लेखनाथ महोत्सवलाई अझ भव्य बनाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्वअध्यक्ष छत्रधर आत्रेय, संघका पूर्वअध्यक्ष बाबुराम गिरी, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मासहितले संघको योगदान, निजी क्षेत्रको भूमिका र आगामी योजनाबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यको संरक्षकत्वमा स्थापित ’चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार–२०८३’ यस वर्ष एपीवान टेलिभिजनका टिकाराम यात्रीलाई प्रदान गर्ने घोषणा भएको छ। रु. १ लाख १ हजार रकम रहेको यस पुरस्कारका लागि छनोट समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिनु भयो ।
त्यसैगरी संघको लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३ समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालालाई प्रदान गरिएको छ। पूर्व कार्यसमिति सदस्य तथा नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछानेद्वारा स्थापित यस पुरस्कारको राशि रु. १५ हजार ८८ रहेको छ। यसअघि आदर्श समाजका प्रधान सम्पादक कृष्णप्रसाद वास्तोला र आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेलले समेत यो सम्मान पाइसकेका छन्।
पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण संरक्षण पुरस्कार–२०८३ यस वर्ष पोखरा–२७ शिवटोल विकास संस्थालाई प्रदान गरिएको छ। रु. ११ हजार १ सय ११ रकम रहेको यो पुरस्कार उद्योग तथा पर्यटनमन्त्री यशोदा रिजालले हस्तान्तरण गर्नु भयो ।
स्थापना दिवसको अवसरमा संघले गत १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता, १८ गते अन्तरसदस्यीय महिला र पुरुष दौड प्रतियोगिता र १९ गते पोखरा–२७ सहेलेपाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा खाद्यान्न सामग्री सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गर्नु भएको थियो ।