पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुअघि सबैको एउटै अपेक्षा थियो—पोखरा विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक यात्राका लागि काठमाडौं धाउन पर्दैन । पोखराबाटै विदेशिक यात्रा गर्न सकिन्छ । र, त्रिभुवन विमानस्थलको हवाई ट्राफिकलाई कम गर्दै पोखरा विमानस्थल विकल्प बन्नेछ । तर, विमानस्थल सञ्चालनमा आएको २ वर्षसम्म यस्तो हुन सकेको छैन । उल्टो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि बन्द हुँदा आन्तरिक उडानसमेत प्रभावित भएर ३० प्रतिशत उडान कटौती भएको छ ।

नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको समानान्तर हुने गरी ट्याक्सी–वे बनाउन शुक्रबारराति विमानस्थल दैनिक १० घन्टा बन्द हुँदैछ । जसका कारणले पोखराको आन्तरिक उडानमा प्रत्यक्ष असर गरेको छ । शुक्रबार पहिलो दिन नै पोखरामा नियमित हुँदै आएको मध्ये ३० प्रतिशत उडान कटौती भएका छन् ।

कात्तिक २२ गते वुद्ध एयरलाइन्सले काठमाडौं—पोखरा, पोखरा—काठमाडौं १७÷१७ वटा उडान गरेको थियो । तर, कात्तिक २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिमा बन्द हुने पहिलो दिन नै ३÷३ वटा फ्लाइट कटौती भएका छन् । शुक्रबार पोखराबाट—काठमाडौं १४ वटा र काठमाडौंबाट १४ वटा मात्र उडान भएका छन् । सधैं झै नियमित भन्दा ३० प्रतिशत फ्लाइट कटौती भएको वृद्ध एयर पोखराका भुवेनश्वर त्रिपाठीले जानकारी दिए । उनका अनुसार काठमाडौं—पोखरा—पोखरा काठमाडौंमात्र नभएर पोखराबाट अन्यन्त्र हुने उडान पनि कटौती भएका छन् । यस्तै, पोखरामा दोस्रो बढी उडान भर्ने यती एयरलायन्सका पनि फ्लाइट कटौती भएको जानकारी दिएको छ । यती एयरलायन्सले कात्तिक २२ गते काठमाडौं—पोखरा, पोखरा—काठमाडौं १०÷१० वटा फ्लाइट गरेको थियो । तर, शुक्रबार यती एयरलायन्सले दुवै ठाउँबाट ७÷७ वटा मात्र फ्लाइट गरेको छ । वुद्धको पोखराबाट अन्यत्र फ्लाइट छैन । श्री एयरलायन्सले पोखरा काठमाडौं २ वटा फ्लाइट गर्दै आएको थियो । यो एयरलायन्सले पनि फ्लाइट कटौती गर्नुपर्ने अवस्था आएको जनाएको छ । पहिलो दिन नै यती धैरै फ्लाइट अवरुद्ध भएपछि ५ महिना प्राधिकरणले के गर्छ, सबैको चासोको विषय बनेको छ ।
Advertisement

प्राधिकरणले त्रिभुवन विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म करिब पाँच महिना विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने यसअघि नै घोषणा गरेको थियो । यद्यपि उडान कटौती नगरी पोखरा र भैरहवा विमानस्थलमा ल्याण्ड गर्ने र उडान भर्ने योजना नबनाएको आरोप एयरलायन्स कम्पनीलले खेपेका छन् ।

पोखरामा त्यसअघि वुद्ध र यती एयरलायन्सले राति १२ बजेसम्म उडान भर्ने गरेपनि शुक्रबार रात्रिकालीन उडान नहुने पोखरा विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले जानकारी दिइन् । उनका अनुसार नियमित फ्लाइट ८ बजे भएपनि डिले भएका विमान राति १२ बजेसम्म आउने गदर्थे । तर, शुक्रबारदेखि रातिमा विमानस्थल बन्द नै गरिने उनले जानकारी दिइन् ।

उडान बन्द हुँदा भइरहेका नियमित उडान पनि महँगो हुन सक्ने एयरलायन्स कम्पनीका कर्मचारी बताउँछन् । ‘फ्लाइट कटौती हुँदा यात्रुको चाप त बढ्छ नै । यता कटौती गर्नुपरेको फ्लाइटसमेतको खर्च जोड्दा भाडा सोतह बढ्छ । त्यसको असर ३÷४ दिनमा देखिन्छ,’ एयरलायन्सका एक कर्मचारीले भने । यद्यपि शुक्रबार भने एयरलायन्सहरुले नियमित कै भाडा लिएका छन् । चाडपर्वको बेला माग बढिरहेको बेला डिमाण्ड पुर्‍याउन नसक्दा भाँडा महँगो हुने ती कर्मचारी बताउँछन् ।
यसअघि नै प्राधिकरणले विमानस्थल लामो समय बन्द हुने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा प्रयोग गर्न भनेको थियो ।

भएकाले पोखरा लगायत भैरहवा विमानस्थललाई विकल्पको खोजी गर्न भनेको थियो । सरकारले राजस्वमा भारी छुट दिन निर्णय नै गरिसकेको छ । यद्यपि एयरलायन्स कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान अन्यन्त्रबाट उडान भर्न इच्छुक देखाएका छैनन् । बरु, भाडादर डबल, तेब्बर बनाएका छन् ।

सरकारले ती विमानस्थल भएर उडान गर्ने विमानमा कुनै शुल्क नलिने निर्णय गरेको थियो । तर, विमान कम्पनीहरूको काठमाडौँ केन्द्रित मानसिकताले जनाएको छ ।

समाधान खोज्न आग्रह
परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् । विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो । शुक्रबार परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरतसिंहं भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री राणाले उनीहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गरिन् ।