लेखनाथ, २६ साउन ।
पोखरा–३२, गगनगौंडास्थित श्री गोगन माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ३७ जना विद्यार्थीलाई विद्यालय ट्रयाक, झोला र जुत्ता वितरण गरिएको हो।
मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका–३२ का कार्यवाहक वडा अध्यक्ष तीर्थबहादुर सुयलले विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गर्नुभयो। समाजसेवी तथा शिक्षाप्रेमी पोखरा–३०, गगनगौंडा निवासी कृष्णप्रसाद पौडेल र उहाँकी छोरी पोखरा–१६ निवासी सन्ध्या पौडेलले संयुक्त रूपमा करिब एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यालयलाई सहयोग गर्नुभएको हो।
सहयोगदाता पौडेलले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक उन्नति तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै वडा सदस्य तीर्थबहादुर सुयलले विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको अध्ययनमा थप उत्साह र प्रेरणा मिल्ने बताउनुभयो। उहाँले पौडेल परिवारले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै समाजमा सक्षम व्यक्तिहरूले शिक्षा क्षेत्रमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा विद्यालयबाट राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षा–२०८३ मा ४८ वर्षको उमेरमा सफलतापूर्वक उत्तीर्ण हुनुभएकी सहयोगदाता रञ्जना कुमारी गौतमलाई सम्मान गरिएको थियो। उमेरले अध्ययनका लागि बाधा नहुने उदाहरण प्रस्तुत गर्दै उहाँले हासिल गर्नुभएको सफलताको कदरस्वरूप सम्मान गरिएको विद्यालयले जनाएको छ।
गोगन माध्यमिक विद्यालय कास्की जिल्लाको शैक्षिक क्षेत्रमा स्थापित विद्यालयका रूपमा परिचित छ। विद्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत छन्। यहाँ नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ। साथै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्टलगायतका विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुरेन्द्र लामिछानेले गर्नुभएको थियो।








