२९ साउन, काठमाडौं । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ ।

राति २:१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।

अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्नका लागि बनाइएका २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्‍याएको छ ।

थापाका अनुसार १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना मन्दिरमा फसेको र उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेको छ ।