पोखरा, भदौ ३ । पोखरा–२८, माझठानास्थित श्री रत्नशोभा माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले नवआगन्तुक विद्यार्थीलाई विद्यालयको तर्फबाट स्वागत गर्दै उनीहरूको सुन्दर भविष्य निर्माण र व्यक्तित्व विकासका लागि विद्यालयले आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उज्ज्वल भविष्य निर्माणका लागि विद्यार्थीमा रहेको जोश, जाँगर र उत्साहलाई कायम राख्दै अध्ययनलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
विद्यालयका शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै कक्षा १२ का विद्यार्थीहरूले विद्यालयमा सुरुदेखि नै सञ्चालन हुँदै आएको स्वागत कार्यक्रमलाई संस्कारका रूपमा निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भविष्यमा अपेक्षित सफलता हासिल गर्न सुरुदेखि नै अध्ययनको जग बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, माध्यमिक तह इन्चार्ज एवं सूचना अधिकारी गोपीमाया गुरुङले कक्षा ११ र १२ का विद्यार्थीको व्यवहारलाई कनिष्ठ विद्यार्थीहरूले अनुकरण गर्ने भएकाले सबैले असल व्यवहार प्रस्तुत गर्न आग्रह गर्नुभयो। उहाँले विद्यालयका नीति, नियम र अनुशासनको पालना गर्दै अध्ययनमा केन्द्रित हुन विद्यार्थीलाई सुझाव दिनुभयो।
कक्षा ११ का कक्षाशिक्षक रामबाबु पौडेलले कक्षा १२ का विद्यार्थीहरूले संस्कारका रूपमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले कक्षा १२ को शैक्षिक सफलताले विद्यार्थीका लागि उज्ज्वल भविष्यको ढोका खोल्ने बताउँदै अनुशासन कायम राखेर अध्ययनमा बढी ध्यान दिन आग्रह गर्नुभयो।
कक्षा १२ का विद्यार्थी अशि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ की छात्रा सृष्टि केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदिक्षा क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कक्षा ११ का छात्र विष्णु तिमिल्सेनाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेकोमा कक्षा १२ का विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन कक्षा १२ का छात्र सबिन केसीले गर्नुभएको थियो। कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा कक्षा १२ का विद्यार्थी रिया गुरुङ, स्मृति लामिछाने, सदिक्षा क्षेत्री, सृष्टि केसी, आकृति तिवारी, अनिल गुरुङ, विश्वास गुरुङ, शक्ति गुरुङ, सनिस गुरुङ, अनिश गुरुङ र सबिन केसीलगायतले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।