कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ । महानगरपालिकाले बसपार्क क्षेत्रका बासिन्दाको व्यवस्थापनका लागि गरेको दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अन्तिम विवरणमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवारलाई अव्यवस्थित बसोबासीको सूचीमा राखिएको छ ।

महानगरपालिकाले यसअघि भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको विवरण संकलनका लागि सूचना जारी गरेको थियो । प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन परेका थिए । दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र आवश्यक परीक्षण गरेपछि अन्तिम विवरण तयार गरिएको हो ।

वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम प्रतिवेदन वडा समितिसमक्ष सिफारिस गरेको थियो । वडा समितिले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ ।

महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया निर्णायक चरणमा पुगेको बताए ।

उनले भने, “वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ । हामी कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ ।”

अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरेको छ । त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

प्रमुख आचार्यका अनुसार प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु हुनेछ । महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित रूपमा स्थानान्तरण गर्ने तयारी गरेको छ ।

बसपार्कभित्र बसोबास गर्दै आएका सुकुमबासीले पनि निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापन गर्न आफूहरूले सहयोग गर्ने बताएका छन् । भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकास निर्माणका लागि सुकुमबासी बाधक नबन्ने भन्दै बसपार्क खाली गर्नुअघि आफूहरूको वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताए ।

उनले भने, “हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन । धेरै कारण छन् यसमा । हामी बसपार्क बनाउनका लागि महानगरलाई सहयोग गर्न तयार छौँ । हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ ।”

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । तर, योजना बनेको करिब पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन । जसका कारण पृथ्वीचोक क्षेत्रको सडकपेटी तथा फुटपाथबाटै लामो र छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन् ।

बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा सुकुमबासी तथा अन्य केही व्यक्तिले बसोबास गर्दै आएपछि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक सटर तथा कवलसमेत हटाएको छ ।

अब बसपार्कको जग्गा खाली गराएर दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरपालिकाले अघि सारेको छ । बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढेसँगै लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्क निर्माण योजनाले गति लिने अपेक्षा गरिएको छ ।