पोखरा , भदौ १८। रत्नशोभा माध्यमिक विद्यालय पोखरा–२८ माझठानामा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि रु. ७ हजार २ सय २० सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो ससाना व्यक्तिगत खाजा खर्चबाट रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक तथा नेपाल युवा रेडक्रस सर्कलका संरक्षक कृष्ण प्रसाद पौडेलले ससाना बालबालिकाले आफ्नो दुई–तीन दिनको खाजा खर्चसमेत बचाएर विपत्तिमा परेका नागरिकको सहयोगका लागि रकम सङ्कलन गरेको बताउनु भयो । “विद्यार्थीहरूले आफ्नो सानो खर्च कटाएर बाढीपीडितको घाउमा मलम लगाउन गरेको प्रयास अत्यन्त प्रशंसनीय छ,” उहाँले भन्नु भयो। ।
शिक्षक नायक सरीता पौडेल लामिछानेले राहत सङ्कलनमा नेपाल युवा रेडक्रस सर्कलका पदाधिकारीहरूले देखाएको सक्रियताको प्रशंसा गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
नेपाल युवा रेडक्रस सर्कलका अध्यक्ष स्मृती बुढाथोकीले सहयोग रकम जुटाउन साथ दिने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरीन् । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सर्कलले रचनात्मक गतिविधिलाई निरन्तरता दिने बताइन् ।
विद्यार्थीहरूले गरेको यो अभियानले सानो सहयोगले पनि विपत्तिमा परेका परिवारप्रति ठुलो मानवीय साथ र सद्भाव व्यक्त गर्न सकिने सन्देश दिएको छ ।








