पोखरा, भदौ २१ । पोखरा महानगरपालिका–१२, प्रगतिचोक निवासी तथा साविक माझठाना–७, ओख्ले निवासी तारानाथ बास्तोलाले पोखरा महानगरपालिका–२८, माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयमा रु. २ लाखको ‘इ. राजु बास्तोला स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको छ।
वि.सं. २०२८ सालमा उक्त विद्यालयमा शिक्षकका रूपमा नियुक्त भई अध्यापन सुरु गर्नुभएका बास्तोला वि.सं. २०३१ देखि २०३७ सालसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत रहनुभएको थियो।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बास्तोलाले बताउनुभयो। उहाँले भन्नुभयो, “यस विद्यालयको शैक्षिक एवम् भौतिक उन्नयनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हुँ।”
आफू यही माटोमा जन्मिएर हुर्किएको र यही स्थानमा रहेको विद्यालयमा लामो समय अध्यापन गरेको स्मरण गर्दै बास्तोलाले विद्यालयलाई केही न केही सहयोग गर्ने आफ्नो पहिलेदेखिकै चाहना रहेको बताउनुभयो। आफ्नै छोरा इन्जिनियर राजु बास्तोलाको नाममा स्मृति अक्षयकोष स्थापना गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँले व्यक्त गर्नुभयो।
बास्तोलाको संरक्षकत्वमा स्थापना भएको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट कक्षा ११ मा नयाँ भर्ना भएका उत्कृष्ट जीपीए प्राप्त गर्ने एक जना विद्यार्थी र कक्षा १२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
यससम्बन्धी सम्झौता विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल र पूर्वप्रधानाध्यापक तारानाथ बास्तोलाबीच भएको विद्यालयका लेखापाल मेघनाथ आचार्यले जानकारी दिनुभयो।
पूर्व लेखापाल नारायण प्रसाद बास्तोला समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक बास्तोलाले आफूले अध्ययन–अध्यापनसँग जोडिएको विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापना गर्नुभएको अक्षयकोषले विद्यार्थीको शैक्षिक प्रोत्साहनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।