पोखरा, भदौ २५ गते । पोखरा महानगरपालिका, वडा नम्बर २८ माझठाना स्थित रत्नशोभा माविमा अध्यापनरत शिक्षकहरूका लागि पेसागत सहयोग कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको आयोजना र पोखरा महानगरपालिका, शिक्षा महाशाखाको समन्वयमा उक्त विद्यालयका शिक्षकहरूका लागि विज्ञसहितको समूहले पेसागत सहयोग गरेको हो । सो अवसरमा नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित र विज्ञान विषय विज्ञहरुले कक्ष ६ देखि कक्षा १० सम्म कक्षाअवलोकन गर्नुका साथै पृष्ठपोषण प्रदान गर्नु भएको थियो ।
आधारभूतदेखि माध्यमिक तहसम्मका विषयगत कक्षाहरूमा नेपाली विषयका लागि प्रेमप्रसाद पोखरेल , अङ्ग्रेजी विषयका लागि सन्तोष आचार्य, गणित विषयका लागि केशव प्रसाद अम्गाईँ, सामाजिक विषयका लागि रामचन्द्र ढकाल तथा विज्ञान विषयका लागि विष्णुप्रसाद तिमिल्सिनाले विज्ञका रूपमा भूमिका निर्वाह गर्नु भएको थियो ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने बताउँदै शिक्षण पेशालाई सम्मानित बनाउने कुरा शिक्षकको हातमा हुने बताउनु भयो । विद्यालय र अभिभावकको बिचको सम्बन्ध समदुर हुुनुपर्नेमा जोड दिंदै प्रमुख आचार्यले विद्यार्थीको सिकाई उपलब्धि अभिभावकलाई नियमित रुपमा जानकारी गराउन आवश्यकता औंल्याउनु भयो । शिक्षकले प्रतिबद्ध भएर शिक्षण नगरेसम्म विद्यालयको सुधार सम्भव नभएको बताउँदै आचार्यले आत्मसाक्षी राखेर कर्तव्य पालना गर्न शिक्षकहरूलाई निर्देशन दिनु भयो।
यसै गरी पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले शिक्षकहरुले नयाँ नयाँ आधुनिक शिक्षण सिकाई विधिको प्रयोग गरी शिक्षण गर्न सुझाव राख्नु भयो । शिक्षण सिकाईमा विद्यार्थीलाई उत्प्रेरणा जगाउन आवश्यकता रहेको बताउँदै विद्यार्थीलाई खुशी बनाएर शिक्षण गर्न सके सिकाई उपलब्धिमा सुधार आउने बताउनु भयो । विद्यार्थी केन्द्रि भएर शिक्षण गर्न आग्रह गर्दै सुवेदीले विद्यालयमा परेको समस्याको सहजीकरण गर्न शिक्षा महाशाखा तयार रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, मावि तहका सामाजिक विषय शिक्षक रामु प्रसाद श्रेष्ठ , मावि तहकै अंग्रेजी विषय शिक्षक रामबाबु पौडेल, सोही तह नेपाली विषय शिक्षक गोपी माया गुरुङ, आधारभूत तह विज्ञान विषय शिक्षक पूर्ण बहादुर खत्री, सोही तहका गणित विषय शिक्षक नरेश अधिकारी, अंग्रेजी विषय शिक्षक प्रकाश तिवारी, सामाजिक विषय शिक्षक राजु क्षेत्री, कमला पौडेल खत्री लगायत शिक्षकहरुले कार्यक्रम फलदायी भएको बताउँदै विषय शिक्षकहरूले दिएका सुझावलाइ मनन गरी शिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी पोखरा २८ कै कालिका स्थित जनज्योती माविका शिक्षकहरुलाई पनि सोही दिन पेशागत सहयोग कार्यक्रम सम्पन्न गरिएको थियो ।