नेपालको यू-१९ राष्ट्रिय टोलीले बंगलादेशलाई हरायो, एसिया कपमा नेपाल बलियो

  • ख-
  • ख+

काठमाडौं, कात्तिक १९ । नेपालको अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ ।

एसिया कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले बंगलादेशमा खेलेका तीनमध्ये सुरुका दुई खेलमा हार बेहोर्दा अन्तिम खेलमा शानदार प्रदर्शन गरेको हो ।

आइतबार साभरको मैदानमा भएको अन्तिम खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा दुई सय २५ रन बनायो ।

अनिमुल इस्लामले अविजित रहँदै ८० रन बनाएको इनिङ्समा बहाब आलमले ३, अनिलकुमार शाहले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

जवाफमा नेपालले म्यान अफ द म्याच मोहम्मद आसिफ शेखको शानदार ९० रनको मद्धतले ४६ ओभर ३ बलमै ४ विकेटको क्षतिमा विजय हासिल ग¥यो ।

नेपालको जितमा जितेन्द्र सिंहको ४५ , दिपेन्द्रको अविजित २७ तथा रोहितकुमार पौडेलको २५ रन महत्वपूर्ण रह्यो ।

यो जितले नेपालले कार्तिक २३ गतेदेखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटमा दरिलो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

नेपालको समूहमा बंगलादेशसंगै भारत र मलेसिया रहेका छन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । नेपाली टिम सोमबार साँझ स्वदेश फर्कने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्