काठमाडौँ- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

लोसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल

काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पार्नुभएको छ ।

नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।

राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

लोसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति

काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसाररल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार-ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसाररल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।

“तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ  । यस वर्ष पुस १६ गते [पुस शुक्ल प्रतिपदाको दिन] हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् ।

“हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उहाँले भन्नुभएको छ ।