१३ औं संस्करणको पोखरा महोत्सव बिहिबारदेखि शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नु भयो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताउनु भयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिनु भयो । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका लागिगण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उहाँको जोड थियो ।
पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
नेपालकै तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हल बनाउन, चिडियाखाना बनाउनका लागि पहल गर्न, बसपार्कलागयन पूर्वाधार बनाउन सबैले पहल थाल्नुपर्ने उहाँको भनाइ थियो । पोखरा आइटी पार्कका लागि उपयुक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उहाँले सुनाए ।
ताल संरक्षण तथा विकास प्राधिकरणलाई सक्रिय बनाएर प्रदेशमा भएका तालहरुको सिमा निर्धारण गर्दै संरक्षण र सरसफाई गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रदेश सरकारलाई मन्त्री गुरुङको अनुरोध गनुृ भएको थियो ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेष बहादुर पौडेलले युनाईटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रको सामुदायिक बनमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर अगाडी बढेको बताउनु भयो ।
पोखरामा खुल्ला चिडियाखाना निर्माणमा युनाईटेड क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी प्रदेश सरकारले साकार पारेरै छाड्ने र त्यसका लागि युनाईटेड क्लब जस्तै सम्पूर्ण संघ संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ रहेको थियो । त्यस्तै शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणमा समेत गण्डकी प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्ने उहाँले प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा गर्दै युनाईटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आफ्नो तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले युनाईटेड क्लवले अहिले सम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाले समेत यसको सिको गर्नुपर्ने बताउनु भयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सरकारलाई कर समेत तिरेर त्यसबाट बचत भएको रकमबाट सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको बताउनु भयो ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाईटेड क्लबले सामाजिक काम मार्फत आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको र पोखरा महोत्सव पोखराको ब्राण्ड बनेको बताउनु भयो । महोत्सवको आयोजना गर्नु आफैमा चुनौती भएतापनि युनाईटेड क्लबले महोत्सवको आयोजना गरेर सामाजिक काम गर्नु आफैमा गौरवको विषय भएको बताउँदै युनाईटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न सक्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको बताउदै १३ औं पोखरा महोत्सव देखि युनाईटेड क्लबले आफ्नो जग्गा रहेको ठाँउ पोखरा २७ अर्चलेमा रहेको जग्गामा युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनु भयो ।
सो अवसरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै चार जना ब्याक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्र्रेम बहादुर जिसी रहनु भयाएको थियो ।
समाजिक सञ्जालमा पोखरा मात्र नभइ देशकै कला, संस्कृति सहित पर्यटकीय गन्तब्यको बारेमा जानकारी मुलक श्रब्यदृश्य बनाई भ्लग मार्फत संसारभरि फैल्याउदै अन्य युवाहरुलाई समेत सो कार्य गर्न प्रोत्साहित गर्नुको साथै विदेशी पर्यटकलाई पनि पोखरा भ्रमणको लागि सो भ्लग मार्फत लालाहित बनाएकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै भ्लगर सञ्जय पुनलाई सम्मान गरिएको थियो ।
त्यसैगरी पोखरामा रही पत्रकारिता गर्दै आएका पत्रकार कृष्णमणी बराललाई वातावरण संरक्षण र पर्यापर्यटनको क्षेत्रमा पत्रकारिताको माध्यामबाट गिद्ध संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । पोखराको पुम्दीकोटमा विशाल महादेवको मुर्ती निर्माण गरी पोखरामा धार्मिक पर्यटकीय स्थल निर्माणमा टेवा पु¥याए वापत चन्द्रकान्त बराललाई सम्मान गरिएको हो । त्यसैगरी पोखराको सराङकोटमा नयाँ धार्मिक पर्यटकीय गन्तब्य विशाल शिवको मन्दिर संगै ६२ फिटको पञ्चमुखी गणेशको मुर्ती स्थापनामा योगदान पु¥याएबापत प्रेम बहादुर जिसीलाई सम्मान गरिएको थियो । सम्मानित हरुलाई प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, क्लबका अध्यक्ष लोक बहादुर थापा, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।
यसैविच महोत्सवको उद्घाटन सत्र पूर्व पोखराको रंगशाला देखि आयोजना स्थल सम्म प्रदर्शन गरिएको झांकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५ प्रथम, द्धितिय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतिय क्षेत्री समाज नेपाल (साराङ नाच) र सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थान हाँसिल गर्न सफल भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र मायाको चिनो, द्धितिय हुनेले नगद १५ हजार र मायाको चिनो, तेश्रो हुनेले नगद १० हजार र सान्तवना स्थान हाँसिल गर्नेले नगद ३ हजार र मायाको चिनो प्राप्त गरे ।
¥याली तर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्धितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना स्थान हाँसिल गर्न सफल भयो । ¥यालीमा प्रथम हुनेले नगद ६ हजार, द्धितिय हुनेले नगद ४ हजार द्धितिय हुनेले नगद २ हजार र मायाको चिनो प्राप्त गरे ।

युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोल्नु भएको थियो ।
युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गर्नु भएको थियो ।
यसैविच महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु परियार, चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरीको प्रस्तुती रहने छ ।