दमौली ।
गण्डकी प्रदेश अन्तरगत रहेका साविक उच्च मा.वि. कक्षा ११ र १२ मा अध्यापनरत अंग्रेजी विषय शिक्षकहरुलाई दोस्रो चरणको टिपिडी तालिम आइतबार देखि सुरु भएको छ ।
दमौली स्थित शिक्षा तालिम केन्द्रमा सुरु भएको उक्त तालिम २९ वटा विद्यालयका २९ जना शिक्षकहरुलाई पेसागत विकास सम्बन्धी टिपिडी तालिम दिन सुरु गरिएको हो ।
तालिमको शुभराम्भ गर्दै शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले विद्यालयमा कार्यरत शिक्षकहरुको बृत्ति विकासका लागि पेसागत विकास सम्बन्धी टिपिडी तालिम सञ्चालन गरिंदै आएको बताउनु भयो । तालिमको पहिलो दिनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तालिम प्रमुख रानाभाटले यस तालिमले सैद्धान्तिक ज्ञानलाई प्रशिक्षणको माध्यमबाट ््शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
सम्बोधनका क्रममा तालिम प्रमुख रानाभाटले तालिमको महत्वको बारेमा चर्चा गर्दै विगत लामो समय देखि कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरुले उच्च शिक्षा हासिल गर्न सक्ने जनशक्ति तयार गरेकोमा खुशी व्यक्त गर्नु भयो । कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरुको उत्पे्रेरणाका लागि सरकारले निकै चासोको रुपमा हेरेको बताउँदै प्रमुख रानाभाटले सोही अनुरुप टिपिडी तालिम रहेको स्पष्ट पार्नु भयो ।
शिक्षकहरुको पेसागत विकास सम्बन्धी १० दिने टिपिडी तालिमको उद्घाटन कार्यक्रममा तालिम केन्द्रका शाखा अधिकृत एवम् सूचना अधिकारी दिपेन्द्र परियारले स्वागत गर्दै यस पेसागत विकास तालिमले विषयगत रुपमा शिक्षण सिकाईमा सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । १० दिन सम्म सञ्चालन हुने तालिममा सिर्जनात्मक र अन्तरक्रियात्मक रुपमा सञ्चालन हुने परियाले जानकारी गराउनु भएको थियो भने तालिम प्रमुख रानाभाटको शब्द, लय र संगितमा रहेको स्वागत गीतबाट समेत स्वागत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्राविधिक सहायक हर्क बहादुर मौनीले गर्नु भएको थियो भने तालिमको पहिलो दिन तालिम प्रमुख नेपालहरि रानाभाटले हावर्ड गार्डनरको आठ प्रकारका बौद्धिक क्षमताहरु, शिक्षण सिकाईको विधि र प्रविधिको प्रयोग , अतिरिक्त क्रियाकलाप र सह पाठ्यक्रम बिचको भिन्नता , शिक्षा नियमावलीमा उल्लेख गरिएको ११ वटा अतिरिक्त क्रियाकलाप लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो भने शाखा अधिकृत अनिषा यादबले कार्यक्रमको संयोजन गर्नु भएको सूचना अधिकारी दिपेन्द्र परियारले जानकारी दिनु भयो ।