ऋषिराम रानाभाट
लेखनाथ, २० फागुन । कास्कीको मादी गाउँपालिका वडा नं.१२ स्थित भगवतीटारमा तेस्रो आलु महोत्वस हुने भएको छ ।
हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिकाको सह आयोजनामा आगामी चेत ९ गते तेस्रो आलु महोत्सव हुने भएको हो ।
यहाँको जग्गा आलु तथा अन्य तरकारी एवम् फलफुलका उत्पादनका लागि उत्तम छ भन्ने सन्देश दिनका लागि महोत्सवको आयोजना गरिएको समूहका सचिव पौडेलले बताउनु भयो । स्थानीयले उत्पादन गरेका तरकारी तथा फलफुल महात्वसव मार्फत विक्रीवितरण गरी कृषकलाई कृषि उत्पादनमा थप प्रोत्साहित गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समूहका सचिव महेन्द्र पौडेलले बताउनु भयो ।
महोत्सवलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको समूहका सचिव पौडेलले जानकारी दिनु भयो । आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बुद्धि प्रसाद पौडेल, प्रचार प्रसार उपसमितिको संयोजकमा प्रकाश आचार्य, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा राम बहादुर क्षेत्री , सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र बहादुर खत्री, अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा नारायणी पौडेल रहनु भएको समूहका अध्यक्ष कुशुमलता सुवेदीले जानकारी दिनु भयो ।
महोत्वसमा खुल्ला भजन प्रतियोगिता , आलुका विभिन्न परिकारहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृृतिक कार्यक्रम आकर्षणका रुपमा रहेका छन् । भजन प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आयोजकले जानकारी दिएको छ ।
पोखराबाट लगभग एक घण्टाको यात्रामा पुगिने भगवतीटारको फाँटमा खाली खेत देखिँदैनन । सिजन अनुसार जौ, आलु, तोरीजस्ता बालीले यहाँको फाँट भरिएका हुन्छन् । यहाँ आलु, मुला जस्ता तरकारीको उब्जनी एकदमै राम्रो भएको कृषक बताउँछन् । स्थानीय सामाजिक संघ संस्थाहरुको विशेष सहयोगमा पहिलो र दोस्रो आलु महोत्सव सफलतापूर्वक सम्पन्न गरेको समूहले यस पटक पनि तेस्रो आलु महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।