पोखरा / २० जेठ ।
पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा १५ औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको छनौट खेल सम्पन्न भएका छन् ।
महानगर क्षेत्रमा एक सय भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागितामा प्रतियोगिताको छनौट खेल सम्पन्न भएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार भलिबल, कराँते, उसु, टाइक्वान्डो, कबड्डी र एथलेटिक्स लगायतका विद्यामा खेलाडीहरूको सहभागिता रहेको थियो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । “कुनै पनि व्यक्तिको उज्ज्वल र सफल खेल जीवनको प्रारम्भ विद्यालय तहदेखिकै खेलकुदका गतिविधिहरूमा उसको सक्रियता, सहभागिता र उत्सुकताले निर्धारण गर्दछ, नगर प्रमुख आचार्यले भन्नुभयो, पोखरा महानगरपालिका विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पर्याप्तता अवसरहरूको सृजनामा प्रतिबद्ध छ ।” सवै प्रकारका खेल गतिविधिहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने कार्यमा महानगरपालिका निरन्तर लागिरहेको उहाँको भनाई थियो ।
विद्यार्थीहरूलाई एकता एवं सामूहिकताको भावना जागृत गर्दै स्वस्थ नागरिक निर्माणका लागि खेलकुदका क्रियाकलापहरू निरन्तर सञ्चालन गर्नु पर्नेमा सरोकारवाला एवं शिक्षा अधिकारीहरूले जोड दिएका छन् । प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरू (खेलाडीहरू) ले राष्ट्रपति रनिङ् शिल्डका अन्य इभेन्टस्हरुमा सहभागिता जनाउने छन् ।