रुपन्देही- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पनि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।

विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार रातिदेखि काठमाडौं–भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो ।

शनिवार राति ११ बजे काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स पौने १२ बजे यहाँबाट सिधा दुबई प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवत्ता दीपक बज्राचार्यले जानकारी दिनुभयो ।

भैरहवा विमानस्थलमा अवतरण गरेपछि जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो
उहाँका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९:३० बजे काठमाण्डौंबाट उडान भरेर एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ ।

यससँगै भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एशिया गरी चारवटा वायुसेवाले व्यवसायिक उडान सुरु गरेका छन् ।

जसमध्ये थाइ एयर एशियाले शुक्रवार देखि र अन्य तीनवटा शनिवारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।