लेखनाथ, ३ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग संवाद नगरी ’बन्द कोठा’मा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्।
शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वर्तमान सरकारले जोसका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको बताए।
’सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,’ श्रेष्ठले भने, ’आफूहरूबीच मात्रै छलफल गरेर सबै काम पूरा हुन्छ, हामी सक्षम छौं, हामी विज्ञ छौं भन्ने मात्र छ। तर अर्थतन्त्रको विज्ञ को हो भन्ने हेक्का राखिएको छैन।’
उनले हालैको एक कार्यक्रममा अर्थमन्त्रीलाई सरोकारवालासँग छलफल नगरी नतिजा नआउने भनी सुझाव दिँदा ’हाम्रो छलफल टुँडीखेलमा होइन, बन्द कोठामा हुन्छ’ भन्ने जवाफ पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने बताए।
चालु आर्थिक वर्षको बजेटलाई ’नराम्रो नभएको’ भन्दै उनले कार्यान्वयन पक्ष भने फितलो रहेको टिप्पणी गरे। ’बजेट आएको तीन महिनाभन्दा बढी भइसक्यो। साउनदेखि नै कार्यान्वयनले गति लिन्छ भन्ने अपेक्षा थियो, तर त्यो हुन सकेन,’ उनले भने।
निजी क्षेत्रले बजेटलाई पहिले स्वागत गरेर पछि विरोध गर्ने गरेको आरोपबारे प्रतिक्रिया दिँदै उनले भाषण सुनेपछिको प्रारम्भिक प्रतिक्रिया र दस्तावेज अध्ययन तथा कार्यान्वयनपछिको मूल्यांकन फरक हुनु स्वाभाविक भएको स्पष्ट पारे। ’निजी क्षेत्रले जे हो, त्यही बोल्छ। महासंघ बोल्छ पनि, सुन्छ पनि,’ उनले थपे।
श्निबार परेको संविधान दिवसको सन्र्दभमा बोल्दै श्रेष्ठले संविधान संशोधनसम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्ना सुझाव पेस गरिसकेको जानकारी दिए। तीन खम्बे नीतिलाई पुनरावलोकन गर्नुपर्ने, ’समाजवाद उन्मुख अर्थतन्त्र’को अस्पष्टता हटाई खुला बजार अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित हुनुपर्ने सुझाव राखिएको उनले बताए। संशोधनसम्बन्धी थप सुझाव भए महासंघमा पठाइदिन उनले जिल्ला संघहरूलाई आग्रह गरे।
रूपा गाउँपालिकाले अघि सारेको भूमि बैंकको अवधारणालाई स्वागतयोग्य भन्दै उनले लेखनाथ उद्योग वाणिज्य संघले त्यसलाई अपनत्व लिनुपर्ने बताए। कृषियोग्य जमिन मासिँदै गएको भन्दै औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्ट्याउने भू–उपयोग नीति अविलम्ब ल्याउनुपर्ने उनको भनाइ थियो।
पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति भने उनले असहमति जनाए। ’राज्यले औद्योगिक क्षेत्र भनेर छुट्ट्याइसकेपछि त्यो त्यहीँ हुनुपर्छ। बिरालोले बच्चा सारेजस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन,’ उनले भने। ढल तथा पूर्वाधार व्यवस्थापनको जिम्मा राज्य र स्थानीय सरकारले लिनुपर्ने र प्रदूषण नियन्त्रणको मापदण्ड पालना गर्न उद्यमी पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
महासंघले नगरपालिका महासंघसँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्न लागेको र काठमाडौं, त्रिभुवन तथा नेपाल विश्वविद्यालयसँग पहिल्यै सम्झौता भइसकेको उनले जानकारी दिए। शिक्षा र रोजगारीबीचको खाडल पुर्न ’इन्डस्ट्री–एकेडेमी’ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कयक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले एक वर्षे कार्यकालमा संघले संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै बजेट सुनिश्चित गरेको बताइन्। तीन महिने सिलाइकटाइ तथा प्लम्बिङलगायत सिपमूलक कार्यक्रम सञ्चालन गरिएको, पोखरा महानगरपालिकाबाट उद्योगहरूलाई विज्ञापन करमा ५० प्रतिशत छुट दिलाउन सफल भएको र २१औं लेखनाथ महोत्सव सम्पन्न भएको उनले जानकारी दिइन्। ८० जना संस्थापक सदस्यबाट सुरु भएको संघमा हाल दुई हजारभन्दा बढी सदस्य रहेको उनको भनाइ छ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले नेपालमा लघु उद्यम÷व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै तिनलाई सँगै नलगे साना, मझौला र ठूला उद्योग फस्टाउन नसक्ने बताए। कृषि, पर्यटन र स्थानीय उत्पादनको क्षेत्रमा संस्थागत अनुसन्धान गरेर मात्र नीतिगत हस्तक्षेपमा जानुपर्ने र त्यसका लागि विश्वविद्यालय सहकार्यमा तयार रहेको उनको भनाइ थियो। कास्की देशकै दुईवटा उद्योग वाणिज्य संघ भएको जिल्ला रहेको र दुवैको नेतृत्व महिलाले सम्हालेको उनले स्मरण गराए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले वर्तमान सरकारले महासंघजस्ता संस्थालाई संस्थागत महत्त्व नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। निजी क्षेत्रका माग सुनुवाइ नभए महासंघ अब संघर्षकै लागि तयार हुनुपर्ने उनको भनाइ छ। उनले सरकारले संस्थासँग नभई व्यक्तिविशेषलाई बोलाएर सल्लाह लिने अभ्यास थालेको आरोप लगाए।
’अहिले चर्चामा आएका, भेटिएका भनिएकाहरू सबै हाम्रै मित्र हुन्। त्यसको कुनै महत्त्व छैन,’ उनले भने, ’महत्त्व त संस्थाको हो। संस्थाले नीतिगत रूपमा कस्तो सुझाव दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। एउटा व्यक्तिलाई बोलाएर राय लिँदा समग्र आर्थिक र व्यावसायिक नीतिमा खासै फरक पर्दैन।’
महासंघ अब चुपचाप बस्ने बेला नरहेको भन्दै उनले भने, ’हाम्रा कुरा नसुन्ने अवस्था भयो भने कहिलेकाहीँ हस्तक्षेप गर्नुपर्ने भूमिका पनि हाम्रो आउँछ।’ महासंघका अध्यक्ष, उपाध्यक्षलगायत नेतृत्वलाई गम्भीर भएर सोच्न आग्रह गर्दै उनले पोखरा उद्योग वाणिज्य संघसहित जिल्लाभरका संघहरू एकजुट भई सशक्त दबाब सिर्जना गर्नुपर्ने बताए। ’हामी सबै एकजुट भएर एक आवाज उठाउन सक्यौँ भने सरकारलाई बाध्य पार्न सक्छौँ,’ उनको भनाइ थियो।
सरकारका क्रियाकलापमाथि टिप्पणी गर्दै मुल्मीले वर्तमान सरकार संस्थागत वा राजनीतिक महत्त्व नदिई व्यक्तिगत रूपमै निर्णय गर्ने परिपाटीबाट अघि बढेको बताए। ’जोस त निकै छ, तर अनुभवको कमीले सरकारका हरेक क्रियाकलापमा शंका–उपशंका सिर्जना भइरहेको छ,’ उनले भने, ’यसले मुलुकमा राजनीतिक अस्थिरताको वातावरण क्रमशः बढाउँदै छ।’ सत्तारूढ दल र सरकारमा बस्नेहरूबीच देखिएको विचार भिन्नताले देश कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्न उब्जाएको उनको टिप्पणी थियो।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्यमी व्यवसायीको संकटको बेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताएका छन्। उनले हाल उद्योगीले ग्यास, चिनी, तेलजस्ता आधारभूत वस्तुको अभाव र लगानीमैत्री वातावरणको कमी झेलिरहेको उल्लेख गरे। ’राज्यमा अहिलेको जनगणना हेर्ने हो भने लगानीको वातावरण १५ प्रतिशतभन्दा तल खस्किएको छ। अहिलेसम्मकै सबैभन्दा ठूलो महँगी पनि यही बेला आएको छ,’ उनले भने।
गण्डकीबाट महासंघको नेतृत्व दोस्रोपटक प्राप्त भएको उल्लेख गर्दै उनले पूर्वअध्यक्ष आनन्दराज मुल्मीको कार्यकालमा ’ऐतिहासिक काम’ भएको सम्झिए र यसपटक पनि गण्डकीबाटै व्यवसायीको भाग्यको ढोका खुल्ने विश्वास व्यक्त गरे। ’आन्दोलनमा जसरी एक जनाले नेतृत्व लिन्छ, त्यसैगरी अहिले तपाईंलाई त्यो अवसर छ। ऋण र लगानीमैत्री वातावरणका विषयमा व्यवसायीको संकटको बेला नेतृत्व लिनुहोस्, गण्डकीका सबै अध्यक्षले साथ दिनेछन्,’ उनले श्रेष्ठलाई सम्बोधन गर्दै भने।
रूपा गाउँपालिका देशभरिमै पहिलोपटक भूमि बैंक स्थापनाका लागि कार्यविधि तयार गरी सूचना प्रकाशन गरेको पालिकामा रहेको ओझाले जानकारी दिए। गाउँका बाँझा जग्गा उत्पादनमा ल्याउन नचाहने जग्गाधनीले पालिकालाई लिजमा वा भाडामा दिन सक्ने र पालिकाले नै त्यस्ता जग्गा उद्यमीलाई न्यूनतम मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले देशको अर्थतन्त्र विगतका आन्दोलन, कोभिड महामारी र भदौ २३–२४ को ’जेन्जी आन्दोलन’पछि झनै सुस्ताएको बताएका छन्। हालैको रसुवा–नुवाकोट बाढीले थप धक्का दिएको उनको भनाइ छ।
श्रेष्ठले कृषि, पर्यटन, ऊर्जा र पुँजी बजारलगायत कुनै पनि क्षेत्रबाट सकारात्मक संकेत नआएको बताए। सरकारले बजेटमार्फत निजी क्षेत्रबाट १४ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकोमा बाढी पुनर्निर्माणका लागि थप ८ खर्ब निजी क्षेत्रबाटै जुटाउने भनिएकाले कुल २२ खर्बको बोझ निजी क्षेत्रमा परेको उनले जनाए।
’दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। छोराछोरी पढ्न गएर त्यहीं अडिन्छन्, यहाँ बुढापाकामात्र बाँकी रहन्छन्। रेमिट्यान्सले मात्र देश धान्न सक्दैन,’ श्रेष्ठले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम लगायतले बोलेका थिए ।
साधारण सभाको अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापित चन्द्रलक्ष्मी जेष्ठ नागरिक सेवा पुरस्कार यात्री मिडिया नेटवर्क प्रा.लीका प्रधान सम्पादक टिकाराम यात्रीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख १ हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मान २०८२ बाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाई सहित सम्मान गरिएको थियो भने सहयोगीदाता सम्मान अन्र्तगत कर्माचार्य बेक्स एन्ड फुड्सका सञ्चालक गोविन्द कर्माचार्य र संघको उत्कृष्ट कर्मचारीको रुपमा प्रसिद्ध पौडेललाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।








