लेखनाथ, १८ असार । लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व र उद्यमशीलता दुवै एकअर्कासँग जोडिएको भन्दै उद्यमी बन्न सक्नु नै ठूलो उपलब्धि हुने बताएका थिए । उनले प्रशिक्षणले सहभागीहरूको भावी जीवनमा सिकेका कुरा व्यवहारमा उतार्न प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए । सिकेका कुरा तत्काल प्रयोगमा ल्याउँदै जाने र त्यसबाट थप सिक्दै जाने प्रक्रियालाई नै “लर्निङ बाई डुइङ“ भनिने उल्लेख गर्दै उनले महानगरपालिका र संघले उपलब्ध गराएको समय र स्रोतको सदुपयोग सहभागीहरूको भावी व्यवहार परिवर्तनबाटै प्रमाणित हुने बताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले सकारात्मक सोच र विचार लिएर अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरेकी थिईन । समस्या आइपरे संघमार्फत नै समाधान खोज्न सकिने बताउँदै उनले संघले नीतिगत तहमै पैरवी गरेर परिवर्तन ल्याएका उदाहरण पनि प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा वडा सदस्य उमा परियारले सहभागिको तर्फबाट मन्तब्य ब्यक्त गर्दै तालिम उपयोगी र फलदायी भएको बताएकी थिईन । सञ्चारकर्मीहरु दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सीना पँगेनी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यष जानुका पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हेमाराज थापा लगायतले प्रशिक्षण दिएका थिए । संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन संघकी उप–महासचिव गंगा मल्लले गरेकी थिईन ।