पोखरा, २५ भदौ । रानाभाट/ भाट समाज नेपाल केन्द्रीय समितिले संगठन विभाग गठन गरेको छ।
गत साउन १० गते बसेको समाजको केन्द्रिय समितिको बैठकको निर्णय बमोजिम संगठन विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।
समाजको विधान २०४७ (संशोधित २०६९ र २०७३) को धारा १५ को उपधारा ४ मा व्यवस्था भए अनुसार शर्मिला रानाभाटलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो ।
रानाभाट समाजकी केन्द्रीय सदस्य समेत रहेकी रानाभाट नेपाल ब्युटिसियन संघकी केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशकी सदस्य, सेरेना युनिसेक्स सालोन एण्ड एकेडेमी सञ्चालक, गण्डकी सौगात गृह कोशेली घरकी सञ्चालक एवम् सञ्चारकर्मी समेत रहेकी शार्मिलाले खुशी व्यक्त गर्दै केन्द्रिय समितिलाई आभार एवम् धन्यवाद व्यक्त गर्नु भयो । जातीय अस्तित्वलाई बचाइराख्न पनि सबै रानाभाट बन्धुहरु एकताबद्ध भएर समाजको छाता संगठमाभित्र रहन आवश्यक रहेको बताउनु भयो ।
यसै गरी केन्द्रिय समितिले संगठन विभागमा शिवलाल रानाभाट (कास्की, हाल काठमाडौं) लाई उपसंयोजक र रेसम रानाभाट (गोरखा, हाल काठमाडौं) लाई सचिवको जिम्मेवारी दिएको छ।
त्यस्तै सदस्यहरूमा राजु रानाभाट बर्मेलीलाई बागमती प्रदेश प्रमुख र माधव भाटलाई लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेश प्रमुख भने पछि मनोनयन गरिने जनाइएको छ।
विभागका अन्य सदस्यहरूमा सन्तबहादुर रानाभाट (नवलपुर), गंगा रानाभाट (कास्की), बाबुराम रानाभाट (तनहुँ) र खिमबहादुर रानाभाट (बर्दिया) रहेका छन्।
समाजले आवश्यकता अनुसार संगठन विभागमा सदस्य थपघट गर्न सकिने जनाएको छ। विभाग गठनसँगै प्रदेश, जिल्ला तथा इकाई समितिहरूसँग समन्वय गरी संगठन विस्तार तथा सुदृढीकरणका कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।








