बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची

  • ख-
  • ख+

१८ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका सबै ११० सीटमै बन्दसूची पेश गरेको छ । रविन्द्र मिश्र र उज्जव थापा नेतृत्वको विवेकशील साझा पार्टीले भने २५ जनाको मात्रै नाम पेश गरेको छ ।

सबैलाई थाहा भएकै कुरा हो कि नयाँशक्ति पार्टीले समानुपातिक तर्फ एक दर्जन सिटहरुमा पनि विजय पाउने अवस्था छैन । तर, १०/१२ जनाले पनि नजित्ने ठाउँमा ११० जनाकै नामावली पेश गर्नु कत्तिको वैज्ञानिक होला ? सांसदमा छनोट नै नहुने गरी सूचीमा नाम चढाएर मात्रै के अर्थ ? सम्भवतः नयाँ शक्ति पार्टीले पुराना दलहरुमा जस्तै सबै नेताहरुको चित्त बुझाउनकै लागि यो ‘बिरालो बँधाइ’ कर्म गरेको हो ।

तर, विवेकशील साझा पार्टीले भने २५ जनाको मात्रै नामावली बुझाएर आफ्नो औकात अनुसारको निर्णय गरेको छ ।

समानुपातिकतर्फको कुरा गर्दा अर्को स्मरणीय के छ भने ३ प्रतिशत मत नल्याउने पार्टीले १ लाख मत कटाए पनि समानुपातिक सांसद छनोट हुँदैन ।

एक/दुई स्थान पनि जित्ने सुनिश्चित नभएको अवस्थामा ११० जनाको जम्बो सूची तयार पार्नुको अर्थ के हो ? अनलाइनखबरको प्रश्नमा नयाँ शक्तिका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले भने– ‘हामीले देशैभरिबाट उम्मेदवारहरु उठाएर पार्टीको प्रचारलाई सबैतिर पुर्‍यउन खोजेका हौं । कुनै निश्चित ठाउँमा हाम्रो मताधार नभएकाले सबैतिरको मत एकत्रित गर्ने र थ्रेसहोल्ड बटाउने हाम्रो लक्ष्य हो ।’

को-को छन् विवेकशीलको सूचीमा ?

विवेकशीलको प्रतिनिधिसधातर्फको बन्दसूचीको पहिलो नम्बरमा अनुशा थापाको नाम छ भने काठमाडौं उपत्यकामा स्थानीय चुनावमा भाग लिएर राम्रो भोट पाएका नेताहरुलाई उसले बन्दसूचीमा स्थान दिएको छ ।

तथापि काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनालाई भने प्रत्यक्ष वा समानुपातिक दुबैतर्फ स्थान दिइएको छैन ।

विवेकशील साझा पार्टीको बन्दसूचीमा रमेश महर्जन, निरुपमा यादव, प्रकाशचन्द्र परियार, मुमाराम खनाल लगायतको नाम छ । त्यसैगरी २५ जनाको बन्दसूचीमा विवेकशील साझा पार्टीले उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम बन्द सूचीमा राखेको छ ।

त्यसैगरी प्रदीपकुमार यादव, अरुण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त (ओझा) सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहांको नाम विवेकशील साझा पार्टीको बन्द सूचीमा समेटिएका छन् ।

विवेकशील साझा पार्टीले प्रदेशहरुमा पनि सीमित उम्मेवार उठाएको छ । तर, उसले प्रत्यक्षतर्फ पनि जित्ने लक्ष्य राखेको प्रदेश नम्बर ६ मा भने केही बढी संख्यामा समानुपातिक उम्मेदवार बनाएको छ ।

करिश्माकै निश्चित छैन, अरुको त नाममात्रै

नयाँशक्ति पार्टीले चर्चित नायिका करिश्मा मानन्धरलाई बन्दसूचीको पहिलो नम्बरमा राखेको छ । नयाँशक्ति पार्टीले देशभरि आफ्ना एक लाख सदस्यहरु रहेको दाबी गर्दै आएको छ । यो दाबीअनुसार उसले समानुपातिकतर्फ मत पायो भने नायिका करिश्मा प्रतिनिधिसभाको सांसद बन्नेछिन् ।

तर, देशभरिबाट उसले प्राप्त गरेको मत ३ प्रतिशत नाघेन भने एक लाख बढी मत आए पनि करिश्मा सांसद बन्न पाउने छैनन् ।

नयाँशक्ति पार्टीले बन्दसूचीको दोस्रो नम्बरमा राप्रपाबाट आएका नेता परशुराम खापुङको नाम समावेश गरेको छ । नयाँशक्तिका पुराना नेता खापुङ संसदमा पुग्न सफल भए भने उनी पनि अनुभवी र पाका नेता नै हुन् । तर, खापुङको प्रतिनिधित्वका लागि नयाँशक्ति पार्टीले तीन प्रतिशत मतको थ्रेसहोल्ड कटाउन आवश्यक छ ।

खापुङपछि जनजाति महिला कमला कुमारी गुरुङको नाम समावेश छ । चौथो नम्बरमा सिन्धुलीका पुराना वामपन्थी नेता दीर्घराज श्रेष्ठको नाम राखिएको छ ।
नयाँशक्ति पार्टीले यिनै चारजनालाई संसदमा पठाउन सक्यो भने त्यो उसको अप्रत्याशित जित हुने छ । गुप्तचर लगायत विभिन्न निकायले गरेको सर्वेक्षणमा नयाँशक्तिले एक वा दुईसिटसम्म जित्न सक्ने अनुमान गरेका छन् ।

आँखा चिन्ह लिएको नयाँ शक्ति पार्टीले समानुपातिक सूचीको पाँचाैं नम्बरमा राखेको नामप्रति धेरै मानिसहरुको आँखा टक्क अडिन्छन्, जहाँ डा. बाबुराम भट्टराई र हिसिला यमीकी नातेदार तिमिला यमीलाई राखिएको छ ।

राजनीतिका चतुर खेलाडी डा. भट्टराईलाई पक्कै थाहा छ कि पाँचौं नम्बरदेखि पछाडिका नामहरु सांसद बन्ने गरी भोट आउने सम्भावना ज्यादै कम छ । तर, ‘जात फाल्नु गुन्द्रुकको झोलमा’ भन्ने आहानजस्तो डा. भट्टराईले अनावश्यक विवादमा मुछिने गरी आफ्नी जेठीसासूको नाम सूचीमा समावेश गरेर नयाँ शक्ति पनि पुरानै ढर्राको पार्टी हो भन्ने देखाएका छन् ।

नयाँ शक्तिको बन्दसूचीमा रहेका चिनिएका नामहरुमध्ये पूर्वसभासद सञ्चपाल मादेन, गंगा चौधरी सत्गौवा, पूर्वसांसद नवराज सुवेदी र काठमाडौंमा उपमेयर उठेकी सविना अर्याल समेत छन् ।

त्यसैगरी नेतृद्वय दूर्गा सोव र मनु हुमागाई पनि समानुपातिक सूचीमा परेकी छिन् । फणिन्द्र देवकोटालाई पनि नयाँशक्ति पार्टीले समानुपातिक सूचीमा राखेको छ ।
पार्टीका प्रवभावशाली एवं वैचारिक नेता केशव दाहाल र डम्बर खतिवडाको नाम समानुपातिकमा छैन ।

केन्द्रीय नेता एवं पत्रकार रामरिझन यादव भने दुई नम्बर प्रदेशको समानुपातिक सूचीमा परेका छन् । पत्रकार अरुणा रायमाफी प्रतिनिधिसभाको बन्दसूचीमा समेटिएकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी