इराकमा फेरि मिसाइल आक्रमण, कम्तीमा ५ सिपाहीको मृत्यु

  • ख-
  • ख+

पुस २४,  बगदाद । इराकको राजधानी बगदादमा २४ घण्टा भित्र अर्को हमला भएको छ। समाचार अनुसार यो पटक दुई मिसाइल उच्च सुरक्षा रहेको ग्रीन जोन (अन्तरराष्ट्रिय क्षेत्र) मा खसेका थिए।  मिसाइल खसाइएको क्षेत्रमा कयौँ विदेशी दूतावास छन्। ठूलो विस्फोटका कारण ग्रीन जोन क्षेत्रमा साइरन बजेको थियो। कुनै पनि संगठनले यस हमलाको जिम्मेवारी लिएका छैनन्।

इरानले अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल हानेलगत्तै इराकमा फेरि हमला भएको हो। अमेरिकी अधिकारीहरुले यस हमलाको पछाडि इराकस्थित इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ को हात रहेको दाबी गरेका छन्।  इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार यो हमलामा कम्तीमा ५ जना सेनाका जवान मारिएका छन्। संगठनले पहिले हमलाका लागि इजरायलमाथि शंका जनाएको थियो। पिएमएफ शिया लडाकुको एक गुट हो। यो आधिकारिकरुपमा इराकी सुरक्षाबलमा संलग्न छ। रकेट हमलामा मारिएका महुन्दिस यस संगठका उप प्रमुख थिए। इराकमा अमेरिकी सेनाविरुद्ध उभिएपछि ट्रम्प प्रशासनले उनलाई कालोसूचीमा राखेको थियो।

अमेरिका केही दिनयता इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई निशाना बनाइरहेको छ। दुई साताअघि अमेरिकी एयर स्ट्राइकमा यस संगठनका २५ लडाकु मारिएका थिए।  अमेरिकाले यो हमला आफ्ना सर्वसाधरण मजदुरको हत्याको बदलामा गरेको जनाएको थियो। कतैब हिज्बुल्लाका नेताले हमलाका लागि अमेरिकाले सजाय भोग्न तयार हुनुपर्ने चेतावनी दिएका थिए।

एक दिनअघि इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा २२ वटा मिसाइल हानेको थियो। इरानले अनबर प्रान्तमा ऐन अल-असद एयर बेस र इरबिलको एक ग्रीन जोनमा हमला गर्दा ८० जना सैनिक मारिएको दाबी गरेको थियो।  तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस दाबीलाई झुटो भएको बताए। समाचार एजेन्सी रोयटर्सले यससँग जोडिएका केही तस्बिर पनि सार्वजनिक गरेको छ। यी फोटोमा इरानले हानेको मिसाइलबाट ७ वटा घर र अन्य पूर्वाधारमा क्षति भएको देखाइएको छ। आक्रमणमा ध्वस्त तीन भवन एयरक्राफ्ट मर्मतका लागि बनाइएका ह्यांगर पनि छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी