रुकुम घटनामा २३ जना पुर्पक्षका लागि थुनामा

  • ख-
  • ख+

१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले बताए ।

तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।

प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधार गृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको छ ।  घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियाे ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेकाे अनुसन्धानमा भाग्दै गरेको नवराजकाे समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्