लेखनाथ, फागुन २ — मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले विकास निर्माण निरन्तर चलिरहने प्रक्रिया भएको बताउनुभएको छ। पोखरा–२८ ढुङ्गेथान युवा क्लबद्वारा आयोजित साविक माझठाना र कालिका वडा स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
आफू पनि भलिबल खेलाडी भएको स्मरण गर्दै प्रमुख गुरुङले माझठाना र कालिकाको पर्यटन तथा कृषिक्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। खेलकुद कार्यक्रमले युवाहरूको क्षमता पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले युवा वर्गलाई सामाजिक कार्यमा अग्रसर गराउनुपर्ने बताउनुभयो। आगामी दिनमा क्लबले आयोजना गर्ने विभिन्न कार्यक्रममा गाउँपालिका सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
यसैगरी क्लबका अध्यक्ष मनमोहन अधिकारीले क्लबले प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको भए पनि यस वर्ष निर्वाचनका कारण महाशिवरात्रिको अवसरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो।
ढुङ्गेथान क्षेत्रमा निकट भविष्यमा शिव मन्दिर स्थापना गर्ने उद्देश्य रहेको बताउँदै उहाँले खेलाडीले सहज रूपमा खेल्न र दर्शकले खेल हेरेर मनोरञ्जन लिन मिल्ने स्तरीय खेलमैदान निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न वडा कार्यालयसँग आग्रह गर्नुभयो।
कार्यक्रम सम्पन्न गर्न मुख्य प्रायोजकका रूपमा सहयोग गरेको मादी गाउँपालिका परिवारप्रति उहाँले आभार व्यक्त गर्नुभयो। यस क्षेत्रका युवाहरू भविष्यमा राष्ट्रिय स्तरका खेलाडीका रूपमा स्थापित हुन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष अधिकारीले स्पष्ट पार्नुभयो। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट प्राप्त सहयोगप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
डाँडागाउँ टोल विकास संस्थाका अध्यक्ष मंगलबहादुर नेपालीले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासित रूपमा खेल्न आग्रह गर्नुभयो। क्लब समाजको साझा संस्था भएकाले क्लबले आयोजना गर्ने हरेक कार्यक्रममा सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्लबका सल्लाहकार चित्रबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गर्दै वार्षिक रूपमा फागु पूर्णिमामा आयोजना गरिने प्रतियोगिता यस वर्ष निर्वाचनका कारण महाशिवरात्रिको अवसरमा गरिएको जानकारी दिनुभयो। कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अन्त्यसम्म सहयोग गरिदिन पनि उहाँले आग्रह गर्नुभयो।
क्लबका अध्यक्ष मनमोहन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सदस्य तथा डाँडागाउँ टोल विकास संस्थाका सचिव महेश्वर अधिकारीले गर्नुभएको थियो।
मादी गाउँपालिका मुख्य प्रायोजक तथा पोखरा–२८ वडा कार्यालय सह–प्रायोजक रहेको प्रतियोगितामा १० टोली सहभागी भएका छन्। कार्यक्रम संयोजक सुरेश आचार्यका अनुसार साविक माझठाना वडा नं। १, साविक माझठाना–४ नौरुङ र साविक माझठाना वडा नं। ८ सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल र फाइनल खेल आइतबार सम्पन्न हुने उहाँले जानकारी दिनुभयो।
















