साफ च्याम्पियनसिप २०२१ सेप्टेम्बरमा हुने

  • ख-
  • ख+

काठमाडौँ ,पुस १३ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यसमिति बैठकले कोरोना भाइरसको महामारीको कारण स्थगित भएको साफ च्याम्पियनसिप अर्को वर्ष सेप्टेम्बरमा आयोजना गर्ने निर्णय सोमबार गरेको छ ।

अध्यक्ष काजी सलाउद्दिनको अध्यक्षतामा भएको भर्च्युअल बैठकले साफ च्याम्पियनसिप सन् २०२१ सेप्टेम्बर १४—२५ मा बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको हो । यसअघि च्याम्पियनसिप २०२० सेप्टेम्बरमा सञ्चालन गर्ने तय गरिएको थियो, जसलाई महामारीको कारण गत जुनमा भएको बैठकले स्थगित गरेको थियो ।

पुरुषको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिपलाई दक्षिण एसियाली फुटबलकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता मानिन्छ । यसमा नेपाल हालसम्म फाइनल पनि पुगेको छैन ।

बैठकले उमेर समूहका प्रतियोगिताहरूको मिति पनि तय गरेको छ । अर्को वर्ष (सन् २०२१) साफ यू १६ महिला च्याम्पियनसिप अगस्ट १८—२७ र साफ यू १९ महिला च्याम्पियनसिप जुलाई १३—२२ मा गर्ने निर्णय गर्‍यो ।

पुरुषतर्फको साफ यू १५ च्याम्पियनसिप अक्टोबर १—१० तथा साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५—२४ मा आयोजना गर्ने जनाएको छ । साफ च्याम्पियनसिपबाहेक अरु प्रतियोगिताको आयोजना स्थल भने तोकिएको छैन । उमेर समूहका प्रतियोगिताको आयोजना मितिलाई एएफसी च्याम्पियनसिपको छनोटले प्रभावित पार्नसक्ने पनि बताइएको छ ।

बैठकले २०२१ को क्यालेन्डरसहित साफको विधान, निर्वाचन नियमावली र बजेटसहित आर्थिक प्रतिवेदन २०१९ पनि पारित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्