लेखनाथ / ३ फागुन । पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित थमन परियार स्मृति खेलमैदान (ढुङ्गेथान) मा सम्पन्न साविक माझठाना र कालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि साविक माझठाना वडा नं. ८ ‘ए’ ले जितेको छ।
ढुङ्गेथान युवा क्लबको आयोजनामा भएको फाइनल खेलमा साविक वडा नं. ८ ले साविक ४ नौरुङलाई सोझो दुई सेटमा पराजित गर्दै उपाधि चुमेको हो। प्रतियोगितामा साविक माझठाना ४ नौरुङ उपविजेता बनेको छ।
विजेता वडा नं. ८ ले नगद रु ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ४ नौरुङले नगद रु २५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगिताभरको उत्कृष्ट खेलाडी साविक ८ का अनिश परियार घोषित भए।
त्यसैगरी, प्रतियोगिताकै अवसरमा आयोजित ठेलो हान्ने प्रतिस्पर्धामा साविक माझठाना ३ का पुष्पराज परियार प्रथम र वडा नं. ४ का विवेक गुरुङ द्वितीय भए। उनीहरूले क्रमशः नगद रु ५ हजार र ३ हजार पुरस्कार प्राप्त गरे।
पुरस्कार वितरण समारोहमा बोल्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले युवा क्लबको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षमा ढुङ्गेथान खेलमैदानको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“हामीले पोखरा २८ लाई कृषि र पर्यटनसँगै खेलकुदको क्षेत्रमा विकास गर्न प्राथमिकता दिएका छौँ,” अध्यक्ष लामिछानेले भन्नुभयो, “यहाँका युवाहरूलाई भलिबलमा अग्रसर गराई राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न वडा कार्यालय सधैँ तत्पर छ।”
विशेष अतिथि एवं समाजसेवी राम गुरुङले युवाहरूको भावनालाई स्थानीय स्तरमा सम्मान गर्दै उनीहरूको रुचि अनुसारको खेलमा प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।
क्लबका अध्यक्ष मनमोहन अधिकारीले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न मुख्य प्रायोजक मादी गाउँपालिका, सह–प्रायोजक पोखरा २८ वडा कार्यालय, वैदेशिक रोजगारीमा रहेका व्यक्तित्वहरू र स्थानीय दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक सुरेश आचार्यका अनुसार क्लबले रत्नशोभा माध्यमिक विद्यालय र डाँडा गाउँका खेलाडीहरूलाई खेल सामग्री १/ १ थान भलिबल समेत प्रदान गरेको थियो। कार्यक्रममा गायक एवं रत्नशोभा मा.वि.का शिक्षक राजु क्षेत्रीले सांगीतिक प्रस्तुति दिनुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सल्लाहकार चित्र बहादुर नेपालीले गर्नुभएको थियो भने उक्त कुराको जानकारी क्लबलका सदस्य महेश्वर अधिकारीले दिनु भयो ।