शिक्षक र विद्यार्थीविच सिकाई सम्पर्क कायम गराउन निशुल्क सि यू जी सिम

  • ख-
  • ख+

काठमाण्डौ, साउन १८– नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ ’ मा प्रस्तुत कार्यविधि अनुसार नेपल टेलिकमले सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार ‘पाठशाला सि यू जी (प्रिपेड मोबाइल सिमकार्ड) नि:शुल्क उपलब्ध गराउने भएको छ ।
सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको क्लोजर युजर ग्रुपमा आबद्ध गराउने योजना रहेको बताइएको छ । शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरिरहनु भएका नेपाल टेलिकमका जी एस एम तथा सी डिएमए सेवाका प्रिपेड मोबाइल नम्बरहरु वा उहाँहरुलाई नि:शुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरुलाइ क्लोज्ड् यूजर ग्रुपमा सि यू जीमा आबद्ध गर्न सकिने व्यवस्था रहेको छ ।
सो सेवा लिनको लागि सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र विद्यार्थीका परिवारको कुनै एक सदस्यले एउटा नि:शुल्क सिमकार्ड प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सिमकार्ड लिंदा विद्यार्थीको वा अभिभावकको नाममा लिन सकिनेछ । . नि:शुल्क सिमकार्ड प्राप्त गर्नका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रितपूर्वक भरी आफू संलग्न सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ ।
आवेदन फारामका साथमा विद्यार्थीले आफ्नो परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा विद्यार्थी प्रमाणित गरिएको सिफारिस , विद्यार्थीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा विद्यार्थीको नागरिकता नभएमा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, विद्यार्थीको एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) आवश्यक पर्ने बताइएको छ भने शिक्षकहरुका लागि शिक्षकको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा शिक्षक प्रमाणित गरिएको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपी एक प्रति फोटो आश्यक पर्ने बताइएको छ । (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
त्यस्तै गरी अभिभावकको लागि आफुसंग सम्बन्धित विद्यार्थीको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा अभिभावक प्रमाणित गरिएको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, एक प्रति फोटो चाहिने नेपाल टेलिकमले जनाएको छ ।
विद्यार्थीले अभिभावकको नाममा सिमकार्ड लिने भएमा रितपूर्वक आवेदन फाराम भरी अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु भनिएको छ । विद्यालयमा आवेदन फाराम संकलन भएपश्चात विद्यालयले आवेदन फाराम र संलग्न कागजात रुजु गरी स्थानीय तहको सिफारीस पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सबैजनाको सिमकार्ड एकमुष्ट प्राप्त गर्न सकिने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्