लेखनाथ, चैत २२
पोखरा महानगरपालिका–२८, ज्यामिरेस्थित तिर्सना युवा क्लबद्वारा आयोजित दोस्रो वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक तिर्सना युवा क्लबले जितेको छ। फाइनल खेलमा वाग्लुङको ढोरपाटन युवा क्लबलाई पराजित गर्दै तिर्सनाले उपाधि जितेको हो।
आयोजक तिर्सना युवा क्लब र ढोरपाटन युवा क्लबबीच भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा तिर्सनाले ३–२ सेटले जित हात पारेको हो। ‘बेस्ट अफ फाइभ’ अन्तर्गत खेलाइएको खेलमा पहिलो सेट तिर्सनाले २५–२० र दोस्रो सेट २५–२३ ले जितेको थियो। तेस्रो र चौथो सेट भने ढोरपाटनले समान २५–२० ले आफ्नो पक्षमा पारेको थियो। निर्णायक पाँचौं सेटमा तिर्सनाले १५–५ अंकको फराकिलो अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
“राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगितामा विजेता तिर्सना युवा क्लबले नगद रु ७१ हजारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ढोरपाटन युवा क्लबले नगद रु ४१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको खेलकुद संयोजक समिप गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगिताकै अवसरमा आयोजित अन्य कार्यक्रमतर्फ ठेलो हान्ने प्रतिस्पर्धामा पोखरा–२८ डाँडागाउँका विशाल नेपाली प्रथम हुनु भयो भने उहाँले नगद रु २ हजार र प्रमाणपत्र प्राप्त गर्नु भयो ।
महिला तर्फ घैंटो फुटाउने प्रतियोगितामा सोनी नेपाली प्रथम हुनु भयो । महिला रस्साकसीमा अच्मरा आमा समूह प्रथम हुँदै रु ३ हजारसहित प्रमाणपत्र प्राप्त गर्दा ज्यामिरे आमा समूह द्वितीय हुँदै रु १ हजार ५ सयसहित प्रमाणपत्र हात पारे।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश भलिबल संघका वरिष्ठ सल्लाहकार लेख बहादुर गुरुङले खेलकुदले स्वास्थ्य मात्र नभई सामाजिक एकतालाई कायम राख्दै भाइचारालाई पनि मजबुत बनाउने बताउनु भयो । “खेलकुदले हामीलाई स्वास्थ्य राख्ने समाजको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ” , गुरुङले बताउनु भयो ।
क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङले युवालाई राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गर्नु भयो ।

अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक रामचन्द्र तिवारीले गर्नु भएको थियो । प्रतियोगिता चैत १९ देखि २१ गतेसम्म पोखरा–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको मुख्य प्रायोजक पोखरा महानगरपालिका–२८ वडा कार्यालय रहेको थियो। द्वितीय पुरस्कार प्रायोजन कुशल गुरुङ, रस्साकसीको प्रथम पुरस्कार दीर्घ सिंह गुरुङ र ठेलो हान्ने प्रतियोगिताको प्रथम पुरस्कार सुमे पूर्ण बहादुर गुरुङले गर्नु भएको थियो । २० कार्टुन पिउने पानी पोखरा–१३ वर्षा पिउने पानीले उपलब्ध गराएको थियो भने पोखरा–२८ ओख्ले निवासी विष्णु बहादुर अधिकारीले २ थान भलिबल सहयोग गर्नु भएको खेलकुद संयोजक समित गुरुङले जानकारी दिनु भयो ।