१८ औं लेखनाथ महोत्सव सफलता उन्मुख, आयोजकको अनुमान भन्दा पनि वढि दर्शक र कारोबार हुने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सव सफलताउन्मुख देखीएको छ । महोत्सव दशौं दिनसम्म आईपुग्दा भएको कारोबार र दर्शकहरुको उपस्थीतीका कारण महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।
महोत्सवको हालसम्म २ लाख ४० हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल ९ करोड ६० लाख बराबरको कारोबार भएको छ । शनिबार मात्रै ४० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन भने १ करोड ५० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
बिदाको दिन समेत परेकाले शनिबार दर्शकहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको थियो । आईतबार पनि बिदा रहेकाले दर्शकको राम्रो उपस्थिति रहने आयोजकको अपेक्षा छ । आयोजकले महोत्सव अवधीभर २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि अझै २ दिन बाँकी महोत्सवको अवधी बाँकी रहेकाले लक्ष्यभन्दा पनि वढि प्रगती हासिल हुने आयोजकले दावी गरेको छ ।
महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार गरी कुल २ लाख ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् ।
त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम ९ करोड ६० लाख पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड ३० लाख र १६ गते १ करोड ५० लाख गरी कुल कारोबार रकम ९ करोड ६० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।
महोत्सवमा सोचेभन्दा बढी दर्शकको साथ मिलेको प्रचारप्रसार संयोजक ओझाले बताए । महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
शनिबार भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु श्याम राना, शिवहरि ढुंगाना, अमृत सापकपोटा, प्रिन्स लम्साल गायिकाहरु कमला घिमिरे, निशा पोख्रेल, आशा विसी, मधु चापागाईंको प्रस्तुति रहेको थियो भने हाँस्यव्यांग्य तर्फ सापटी काका र घिरौलाको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै, साँझको लाइभ कन्सर्टतर्फ राजेश पायल राई, बसन्त सापकोटा, अनु चौधरीले स्टेज तताएका थिए ।
त्यस्तै, आईतबार हुने लोकदोहोरी कार्यक्रमतर्फ बद्रि पँगेनी, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, गायिकाहरु शान्ति श्री परियार, सुनिता नेपाली, मञ्जु विक र माया केसीको प्रस्तुति रहनेछ । त्यस्तै, साँझको लाइभ एलिना चौहान, देबेन्द्र बब्लु एण्ड लाईभ व्याण्ड र र्यापर टुकिले स्टेज तताउनेछन ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ।
यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्