आममाफीपछि रेशम चौधरी ६ बर्ष पछि जेलमुक्त

गाउँले मिडिया
  • ख-
  • ख+

सरकारले गणतन्त्र दिवसका अवसरमा आम माफीको निर्णय गरे सँगै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी ६ बर्ष पछि जेलमुक्त भएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरे पछि उनी आज जेल मुक्त भएका हुन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगे । रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुगेका हुन् । मन्त्री क्वाटरमा पनि उनका समर्थकहरुको भिडभाड थियो । थारु भेषभूषामा सजिएका उनका समर्थकहरु रेशमको प्रतिक्षामा थिए । उनीहरुले पनि रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए ।

त्यहाँ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुरकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि सघाउन तयार रहेको बताए । त्यसपछि उनी बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डलामा आए । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले उनलाई फूलमाला र खादाले स्वागत गरे ।

रेशम चौधरीले आजै गृहजिल्ला कैलाली जाने बताएका छन् । त्यहाँ गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरुलाई भेट्ने कार्यक्रम छ । डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले अन्य बन्दीहरुलाई पनि छिट्टै जेलबाट छुटाउन पहल भइरहेको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्