कास्की, फागुन ८ गते । कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।

पोखरा रङ्गशाला स्थित मल्टिपल कभर्ड हलमा सो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समूहअन्तर्गत महिला र पुरुष गरी एक सय पाँच जना खेलाडीहरु सहभागि हुने भएको छ ।

विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको सङ्घका सचिव ज्योति हमालले जानकारी दिनुभयो ।

यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी नौ तौल समूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै, सचिव हमालका अनुसार महिलातर्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको सङ्घका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो ।