ऋषिराम रानाभाट
लेखनाथ, १६ फागुन । पोखरा महानगरपालिका वडा नं.२८ स्थित रैकरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि साविक माझठाना वडा नंं ९ ए ले प्राप्त गरेको छ । माहाशिबरात्रिको अबसरमा माहारुद्रशिबालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको साविक माझठाना र कालिका वडा स्तरीय भलिबल प्रतियोगितामा साविक माझठाना वडा नं.७ ओख्ले उपविजेता बन्न सफल भएको छ । त्यस्तै गरी साविक माझठाना वडा नं.८ गैरीस्वाँरा , तिवारी गाउँ तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रथम हुने समूहले खसी मेडल, प्रमाण पत्र, द्धितीय हुने समूहले बोका मेडल र प्रमाण पत्र र तृतीय हुने समूहले कुखुराको भाले , मेडल र प्रमाण प्रत्र प्राप्त गरेका छन् । ३५ वर्ष भन्दा माथि उमेर समूहका बिच आयोजना गरिएको उक्त भलिबल प्रतियोगितामा कालिकाबाट १ समूह र साविक माझठानाबाट ९ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक रामचन्द्र तिवारीले जानकारी दिनु भयो ।
यसै गरी छेलो हान्ने प्रतियोगितामा विकास गुरुङ प्रथम हुनु भएको छ भने आफूले प्राप्त गरेको नगद पुरस्कार मन्दिर व्यवस्थापनलाई प्रदान गर्नु भएको छ ।
भलिबल प्रतियोगितामा ६२ वर्षका ऋषिराम कंडेलले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कार प्राप्त गरेका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् निवर्तमान वडा सदस्य विष्णु प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक श्रीकृष्ण लामिछानेले मानिसको जीवनमा खेलको अत्यन्तै महत्वपूर्ण हुने बताउँदै सबै उमेर समूहका मानिसले फुर्सदको समयमा खेल खेल्नु पर्ने आवश्यकता औंल्याउनु भयो । समग्र २८ नं.वडालाई नमूना वडाको रुपमा विकास गर्न सकारात्मक सल्लाह , सुझाव र सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।
आगामी दिनमा वडा नं.२८ मा खेलकुदको क्षेत्रमा विकास गर्नका लागि खेलकुदलाई प्राथमिकतामा राखेर वडाबाट बजेट बिनियोजन गर्ने पनि सो अवसरमा वडा अध्यक्ष लामिछानेले बताउनु भयो ।
त्यस्तै गरी वडा सदस्य एवम् पोखरा महानगर शिक्षा परिषदका सदस्य डाल्डादेवी भुजेलले वडा नं.२८ मार्फत महिला , बालबालिका , युवा , कृषक लक्षित विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता दिइएको जानकारी गराउँदै आगामी दिनमा भजन चुट्का लगायत विविध कार्यक्रमहरु वडाबाट सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सबै एकजुट हुन जरुरी रहको बताउनु भयो ।
यसै गरी रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् साविक माझठाना गा.वि.स.का पूर्व उपाध्यक्ष शिव बहादुर अधिकारीेले भलिबल प्रतियोगिताले सबै दाजुभाइ , दिदीबहिनीहरुको पूनर्मिलन गराउने काम गरेकोमा मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद व्यक्त गर्नु भयो । यस्ता कार्यक्रमले सबै वडावासीहरुमा एकताको सन्देश दिने बताउँदै अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गनुृपर्ने सुझाव राख्नु भयो ।
त्यस्तै रत्नशोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य प्रकाश तिवारीले व्यक्तिगत एवम् राजनिति स्वार्थभन्दा माथि उठेर विकास निर्माणका काममा लाग्नुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट वडाको हरेक क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
माहारुद्रशिबालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको सल्लाह र सहयोगको अपेक्षा गर्नु भयो । कार्यक्रम संयोजक रामचन्द्र तिवारीले संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै खेलकुदको माध्यमबाट माझठानालाई स्वदेश तथा विदेशमा चिनाउने उद्धेश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । यस्ता कार्यक्रमले साविक माझठाना र कालिकाका दाजुभाइहरु बिचको सम्बन्धलाई अझ थप प्रगाढ बनाउने बतउँदै आगामी दिनमा पनि सम्भव भए सम्म कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनु भयो ।