विश्वभर करिब एक लाख ३५ हजारमा ‘कोरोनाभाइरस’ संक्रमण

  • ख-
  • ख+

पेरिस, फागुन ३० । विश्वभरि महामारीको रूपमा फैलिएको ‘कोरोनाभाइरस’को संक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा संक्रमण भएको छ ।

यसबाट चार हजार ९८४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरस संक्रमणबाट चीनमा सबभन्दा बढी मृतक र संक्रमितको संख्या रहेको छ । यद्यपि, चीनमा हाल यस भाइरसको संक्रमण कम भएको जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरस संक्रमणबाट चीनमा तीन हजार १२७ को मृत्यु भएको छ भने ८१ हजारमा संक्रमण भएको छ ।

रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुनेक्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको संक्रमण फैलिएको बताइएको छ ।

अमेरिकामा यस भाइरसको संक्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमण धेरै फैलिएको इटालीमा संक्रमितको संख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म एक हजार १६ जनाको मृत्यु भएको छ ।

इरानमा संक्रमितको संख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् ।

यसैगरी, स्पेनमा संक्रमित हुनेको संख्या झन्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक/एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ ।

पोल्याडका स्वास्थ्य अधिकारीकाहरुकाअनुसार देशभरमा कुल संक्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोनाभाइसबाट संक्रमितको संख्या २१ पुगेको छ । कुल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।

कोरोनाकै कारण भारतको जम्मु र कश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिंगापुर र मलेसियामा बिहीबार थप नौ/नौै व्यक्तिमा संक्रमण पुष्टि भएसँगै यहाँ कोरोनाभाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या क्रमशः १८७ र १५८ पुगेको दुवै देशका अधिकारीहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्