बेलायतमा कोरोनाको औषधी डेक्सामेथासोनको प्रयोग सफल

  • ख-
  • ख+

असार ३, २०७७ डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका छन्।  सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ।

संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विशेषज्ञहरूले गम्भीर बिरामीको उपचारका लागि डेक्सोमेथासोनको प्रयोग सहायक सिद्ध हुने दावी गरेका छन्। सन् १९६० को दशकदेखि बाथ र दमको उपचारमा डेक्सामेथासोन औषधी प्रयोग हुँदै आएको छ।

यो औषधीको निकै थोरै मात्रा बिरामीलाई खुवाइएको र त्यसपछि बिरामीको स्वास्थ्यमा आएको बताएका छन्। तत्कालका लागि यो औषधी नै कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने उनीहरूको भनाई छ। गम्भीर स्थितिमा पुगेका र भेन्टिलेटरमा राखिएका बिरामीले ज्यान गुमाउन सक्ने जोखिमलाई यो औषधी प्रयोगले एक तिहाइसम्म कम गर्न सक्ने बीबीसीमा उल्लेख छ। कोरोना संक्रमण फैलन शुरु हुँदै गर्दा बेलायतमा यो औषधी प्रयोग गरिएको भए कम्तिमा पाँच हजार मानिसको ज्यान बचाउन सकिने देखिएको शोधकर्ताहरूले अनुमान गरेका छन्।

यो औषधी सस्तो पनि भएकाले आर्थिक रुपमा विपन्न मुलुकका नागरिकले समेत खरिद गर्न सक्छन्। बेलायती चिकित्सकहरूले संक्रमितको उपचारका लागि अहिले बजारमा उपलब्ध र सम्भव सबै औषधीहरूको प्रयोग र परीक्षण गरिरहेको जनाइएको छ। अन्य औषधी प्रयोगले संक्रमितको स्वास्थ्यमा सुधार नआएपनि डेक्सामेथासोनले निकै सहयोग गरेको उनीहरूले बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले अस्पतालमा भर्ना गरिएका दुई हजार संक्रमितलाई यो औषधी दिएका थिए। औषधी नखुवाइएका अन्य चार हजार मानिसहरूको स्वास्थ्य अवस्थासँग औषधी खुवाइएका मानिसहरूको स्थिति तुलना गरिएको थियो। भेन्टिलेटरको सहारामा जिवितै रहेका बिरामीलाई यो औषधी खुवाएपछि कोरोनाको जोखिम ४० देखि २८ प्रतिशतसम्म घटेको थियो।

यो शोध समूहका मुख्य अध्ययनकर्ता प्राध्यापक पिटर हार्बीले भनेका छन्, ‘संक्रमितको मृत्युदर घटाउन डेक्सोमेथासोन मात्रै अहिलेसम्म भेटिएको प्रभावकारी औषधी हो, यो पत्ता लगाउन सक्नु नै ठूलो सफलता हो।’  ‘भेन्टिलेटरको सहारामा जीवित रहेका हरेक आठमा एक जनालाई यो औषधी प्रयोगमार्फत बचाउन सकिन्छ, अक्सिजनको आवश्यक पर्ने हरेक २५ मध्ये एक संक्रमित पनि यो औषधी प्रयोग गरेपछि बाँच्न सक्छन्,’ अर्का शोधकर्ता प्राध्यापक मार्टिन लैन्ड्रले भनेका छन्, ‘डेक्सोमेथासोन संक्रमितको उपचारमा उपायसिद्ध भइसकेको छ, १० दिनसम्म यो औषधी प्रयोग गर्दा बिरामीको बढीमा जम्माजम्मी एक हजार रुपैयाँ खर्च हुन्छ, यस हिसाबले करिब तीन हजार रुपैयाँ खर्च गर्दा एक संक्रमितको ज्यान जोगाउन सकिन्छ।

कोरोनाको सामान्य लक्षण देखिएका बिरामीलाई भने यो औषधी प्रयोग खासै उपयोगी नहुने चिकित्सकहरूले बताएका छन्। अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यकताअनुसार यो औषधी दिन सकिने, तर बजारबाट किनेर आफ्नै खुशीले प्रयोग गर्न उनीहरूले आग्रह गरेका छन्। यसअघि अमेरिकाले कोरोनाको औषधी भन्दै प्रयोग गरेको हाइड्रोक्सीक्लोरोक्वीनले बिरामीमा हृदयसम्बन्धी समस्या बढाएको थियो। ​इबोलाको औषधी रेमडेसिवियरले पनि संक्रमितको उपचारमा सहयोग पुगेको चिकित्सकहरूले बताउने गरेका छन्।

तर यी औषधीहरू नै कोरोना रोकथामका लागि पर्याप्त नभएको र सबै संक्रमितका हकमा प्रभावकारी देखिएको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्