लेखनाथ / माघ २५ । पोखरा महानगरपाकिला वडा नं.२८ माझठाना स्थित थमन परियार स्मृति खेल मैदान ढुङ्गेथानमा साविक माझठाना र साविक कालिका अन्तर्गतको वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ढुङ्गेथान युवा क्लबको आयोजनामा महाशिवरात्रीको पर्वको अवसरमा आगामी फागुन २ र ३ गते भलिबल प्रतियोगिताका साथमा छेलो प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने क्लबका सदस्य एवम् कार्यक्रम संयोजक सुरेश आचार्यले जानकारी दिनु भयो ।
स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा साविक माझठाना र कालिकामा बसोबास गर्ने दाजुभाइ बिच भाइचाराको सम्बन्धलाई सुमधुर बनाउँदै नेपालीको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने कार्यक्रमको उद्धेश्य रहेको आचार्यले बताउनु भयो ।
भलिबल प्रतियोगितामा सहभागी टिम दर्ता रु ४ हजार रहने जसमा ३ जना अतिरिक्त खेलाडी सहित ९ जनाको टिम रहने आयोजकले बताएको छ ।
हरेक टिममा बाहिरी दुईजना खेलाडी राख्न पाइने र राष्ट्रिय स्तर र प्रदेश स्तरमा खेलेको खेलाडी समावेश गराउन नपाइने आयोजकले जानकारी दिएको छ । साविक कालिका र माझठाना भित्रका वडाका खेलाडीहरु अन्य वडाबाट समावेश भएर पनि खेल्न नपाइने कार्यक्रम संयोजक आचार्यले स्पष्ट पार्नु भयो ।
भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ४० हजार , द्धितीय हुने समुहले नगद रु २५ हजार साथमा प्रमाण पत्र र मेडल पनि प्राप्त गर्ने क्लबका अध्यक्ष मनमोहन अधिकारीले बताउनु भयो । यसै गरी छेलो तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार , द्धितीय पुरस्कार रु ३ हजार र प्रमाण पत्र रहेको अधिकारीे जानकारी दिनु भयो ।
प्रत्येक वर्ष होली पर्वको अवसरमा गरिंदै आएको भलिबल, छेलो हान्ने प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम यस चुनावका कारण शिवरात्रीको अवसरमा सञ्चालन गरिएको क्लबका अध्यक्ष मनमोहन अधिकारीले जानकारी दिनु भयो ।
भलिबल प्रतियोगितामा १२ वटा समूहको सहभागी रहने क्लबका सचिव सुवचन्द्र नेपालीले जानकारी दिनु भयो । कार्यक्रम सम्पन्न गर्न २ लाख २० हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
स्थानिय बुद्धिजीवि, सामाजिक संघ संस्थाहरु, वैदेसिक रोजगारमा गएका वडाका दाजुभाई दिदीबहिनीहरुको आर्थिक सहयोगबाट कार्यक्रम सञ्चालन गरिने सचिव नेपालीले बताउनु भयो ।
वडावासी बिचको सद्भावलाई कायम राख्ने उद्धे्रश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन कार्यक्रम संयोजक आचार्यले खेलप्रेमी सबैमा आग्रह गर्नु भयो ।